इटहरी । इटहरी उपमहानगरपालिका वडा नम्बर १६ मा अवस्थित बालग्राम टोल विकास समितिद्वारा एसईई परीक्षा उत्तीर्ण गरेका ६६ जना विद्यार्थीलाई सम्मान गर्दै उत्प्रेरणा कार्यक्रम सम्पन्न गरिएको छ । समितिका अध्यक्ष देवीप्रसाद भट्टराईको अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य अशोक कुमार चौधरीको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा बालग्राम टोल विकास समिति भित्र रहेका सामुदायिक तथा निजी विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई सम्मान गरिएको हो । कार्यक्रममा शिक्षाविद तथा प्राध्यापक डा. दिवाकर रेग्मी, शिक्षाविद ममता पराजुली र कलाकार रमेश प्रसाईंले विद्यार्थीहरूलाई प्रेरणादायी मन्तव्य दिँदै आगामी जीवनमा अझ उत्साहका साथ अघि बढ्न हौसला प्रदान गर्नुभएको थियो। साथै, उहाँहरूले मोटिभेसनका विभिन्न पक्षहरूबारे जानकारी गराउँदै विद्यार्थीहरूलाई सकारात्मक सोच र आत्मविश्वासका साथ लक्ष्य हासिल गर्न प्रोत्साहित गर्नुभयो । अध्यक्ष भट्टराईले कार्यक्रममा बोल्दै संस्थाले शिक्षा तथा सामाजिक क्षेत्रमा योगदान दिँदै आएको जानकारी दिनुभयो। प्रमुख अतिथि सांसद चौधरीले संस्थाको सामाजिक योगदान प्रशंसनीय रहेको भन्दै यसले विद्यार्थीहरूलाई अझ राम्रो गर्न प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो ।

WhatsApp Image 2025-07-26 at 17.11.39_ccacb9c5

कार्यक्रमको सञ्चालन संस्थाका सहसचिव लोक बहादुर विष्टले गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष लक्ष्मीप्रसाद बञ्जराले राख्नुभएको थियो । सो अवसरमा कार्यक्रमलाई सहयोग गर्ने आईएमई लाइफ इन्स्योरेन्स तरहरा र रमा पराजुलीलाई पनि सम्मान गरिएको थियो। कार्यक्रममा इटहरी–१९ का वडा अध्यक्ष नारायण चौधरी, कार्यपालिका सदस्य प्रमोद शेर्पा, माया घर इटहरीकी अध्यक्ष शुभद्रा प्याकुरेल, सेभेन स्टार क्लबका अध्यक्ष नवराज पौडेल, परिवर्तन एक अभियानका अध्यक्ष तेजप्रसाद घिमिरे (निश्चल), स्थानीय विद्यालयका शिक्षक, टोल विकास समिति तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरू, प्रहरी लगायतको उपस्थिति रहेको थियो ।