इटहरी | नेपाल मुस्लिम संघ, इटहरी नगर समितिको प्रथम नगर अधिवेशनबाट मोहम्मद नौशाद आलमको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ।
नगर समितिका संयोजक मोहम्मद नौशाद आलमको अध्यक्षता तथा नेपाल मुस्लिम संघ कोशी प्रदेश कार्यसमितिका सभापति एवं कोशी प्रदेशसभा सदस्य हाजी इस्राईल मसूरीको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो।
नयाँ निर्वाचित कार्यसमितिमा अध्यक्षमा मोहम्मद नौशाद आलम, उपाध्यक्षमा सविर मियाँ र इन्तियात बरकाती, सचिवमा नुर मोहमत सहसचिवमा कमाल आलम, कोषाध्यक्षमा जरिना खातुन, सहकोषाध्यक्षमा मोहमत इलियास रहेका छन्। त्यस्तै, सदस्यहरूमा दिलबर अली, जैतुन खातुन, खलिल मियाँसहित २५ जना चयन गरिएको छ।
नवनिर्वाचित अध्यक्ष मोहम्मद नौशाद आलमले कार्यक्रमलाई सम्बोधन गर्दै सम्पूर्ण मुस्लिम समुदायको प्रतिनिधित्व गर्ने जिम्मेवारी आफूले पाएकोमा कृतज्ञता व्यक्त गर्दै भावी दिनमा संघलाई थप व्यवस्थित, सक्रिय र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले मुस्लिम समुदायको हक, अधिकार, शिक्षा, रोजगार तथा सामाजिक समावेशीतामा संघको भूमिका अझ सशक्त बनाइने प्रतिवद्धता जनाउनुभयो।
कार्यक्रमका प्रमुख अतिथि हाजी इस्राईल मसूरीले संघको संगठनात्मक संरचना बलियो पार्दै मुस्लिम समुदायको आवाज राजनीतिक तहमा पुर्याउनुपर्नेमा जोड दिनुभयो। उहाँले संघको तल्लो तहदेखि केन्द्रसम्मको सक्रिय सञ्जाल निर्माण गरेर मुस्लिम समुदायको समुन्नत भविष्य सुनिश्चित गर्नुपर्ने विचार व्यक्त गर्नुभयो।

अधिवेशन कार्यक्रममा नेपाल तरुण दल सुनसरीका सभापति तथा कांग्रेस प्रदेश सभा सदस्य सिजन गुरुङ, नेपाल मुस्लिम संघ सुनसरीका सभापति हारून अंसारी, नेपाली कांग्रेस क्षेत्र नं. ३ का सभापति मेहदी हुसेन, क्षेत्र नं. ३(क) का सभापति दीपक ढकाल, आदिवासी जनजाति महासंघ इटहरी नगरका सभापति जीवन राई, नेपाली कांग्रेसका विभिन्न तहका नेताहरू, कार्यकर्ताहरू तथा वडास्तरीयदेखि प्रदेशस्तरीय पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमले इटहरी नगरमा मुस्लिम समुदायको एकताको सन्देश फैलाउनुका साथै संघको संस्थागत विकासमा नयाँ ऊर्जा थपेको सहभागीहरूको भनाइ थियो।



