इटहरी । एकीकृत जाँच चौकी (आइसिपी) मा थप एक अर्ब छ करोड लागतमा दुई वटा संरचना बन्ने भएका छन् । नेपाल इन्टरमोडल यातायात विकास समितिले आइसिपीपरिसरमा गोदाम र पार्किङ तथा आइसिपीसँग कोशी राजमार्गलाई जोड्ने सम्पर्क सडक निर्माणको प्रक्रिया अगाडि बढाएको हो । इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार विश्व बैङ्कसँगको ऋण सहयोगमा गोदाम र पार्किङ ४१ करोड रुपियाँमा निर्माण हुने जानकारी दिनुभयो । आइसिपीभित्र गोदाम ५४र२४ मिटरको निर्माण हुने छ । यसै गरी पार्किङ १० हजार वर्गमिटरको हुने छ । यसै गरी सम्पर्क सडक ६५ करोड लागतमा चार लेनमा विस्तार हुने छ ।
सम्पर्क सडकमा फुटपाथसहित मालवाहक सवारीका लागि चार लेनको सडक विस्तार गरिने छ । यी दुवै परियोजनाको ठेक्का प्रक्रियामा गएका छन् । यी दुवै परियोजना १८ महिनामा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएका हुन् । आइसिपी क्षेत्रमा रहेको भन्सारबाट छुटेका मालवाहक सवारी कोशी राजमार्ग धरान–विराटनगर खण्ड जोड्ने मार्गलाई सम्पर्क सडक मानिएको छ । विराटनगर–१८, बुधनगरमा रहेको आइसिपीमा भन्सार सरेदेखि दुई लेनको सम्पर्क सडकमा मालवाहक सवारीका धेरै दुर्घटना हुने गरेका छन् । स्थानीयले सडकको स्तरोन्नतिसँगै फुटपाथ निर्माण गर्नुपर्ने माग राख्दै आएका थिए । कोशी राजमार्गबाट आइसिपीसम्म पुग्न ४.५ किलोमिटर दुरी छ ।
विराटनगरको रानी–इटहरी–धरान हुँदै सङ्खुवासभाको किमाथाङ्कासम्मको सडकलाई त्रिदेशीय व्यापारिक मार्गको अवधारणा अनुसार निर्माण कार्य जारी छ । यसै गरी यसअगाडि आइसिपीमा परिसरमा ७८ वटा मालवाहक सवारीसाधन पार्किङ क्षमताको मात्रै यार्ड रहेको छ । दैनिक ३५० सवारी पार्किङ गर्न मिल्ने दुई सय मिटर लम्बाइको पार्किङ आवश्यक रहेको भन्सार कार्यालयको माग थियो ।


