इटहरी । पूर्वोत्तर मोरङका सेवाग्राहीलाई भूमिसम्बन्धी सेवा दिइरहेको मालपोत र नापी कार्यालय बेलबारीको कार्यक्षेत्र घटाएर उर्लाबारीमा अर्को कार्यालय स्थापना गर्ने सरकारी योजना अलमलमा परेको छ । तीन वटा पालिकाले आफ्नै पालिकामा कार्यालय र सेवा केन्द्र राख्नुपर्ने माग राखेपछि मालपोत कार्यालय स्थापना कार्यक्रम अलमलमा परेको हो । सङ्घीय सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आर्थिक वर्ष २०८२÷८३ मा देशभर नौ वटा कार्यालय विस्तार गर्ने कार्यव्रmम बनाएको थियो । जस अन्तर्गत जनसङ्ख्या र भूगोलका आधारमा करिब दुई लाख जनसङ्ख्या समेट्ने गरी उर्लाबारीमा छुट्टै मालपोत तथा नापी कार्यालय स्थापनाको तयारी सुरु भएको थियो ।
हाल उर्लाबारी, लेटाङ र पथरीशनिश्चरे नगरपालिका, कानेपोखरी र मिक्लाजुङ गाउँपालिकाले बेलबारीस्थित मालपोत कार्यालयबाट सेवा लिइरहेका छन् । त्यस्तै रतुवामाई नगरपालिकाका तीन वटा वडा (साबिक इटहरा गाविस) का सेवाग्राहीले समेत बेलबारीबाट सेवा लिइरहेका छन् । सेवा विकेन्द्रीकरण गर्ने र स्थानीयस्तरबाटै भूमिसम्बन्धी काम गर्न सहज होस् भनेर उर्लाबारीमा कार्यालय स्थापनाका लागि पहल भएको उर्लाबारी नगरपालिकाका प्रमुख गङ्गाप्रसाद खरेलले बताउनुभयो । खरेलका अनुसार एक चरणको छलफल भई काम अगाडि बढिसकेको छ । मालपोत कार्यालय उर्लाबारी आउने हुँदा वडा नम्बर ४, ५, ७ र ८ नम्बर वडावासीले तीन कट्ठा देखि पाँच कट्ठासम्म निःशुल्क जग्गा दिनेसमेत घोषणा गरिसकेको नगरप्रमुख खरेलले जानकारी दिनुभयो । उहाँका अनुसार तत्काल भाडामा कार्यालय बस्ने भए, घरधनीले भाडासमेत छ महिनासम्म नलिने घोषणा गर्नुभएको छ । तर मिक्लाजुङ गाउँपालिका र रतुवामाई नगरपालिकाबाहेकका पालिकाले आफ्नै पालिकामा कार्यालय आउने भए मात्र सहमत दिने भएका छन् ।
यता कानेपोखरी गाउँपालिका, लेटाङ र पथरीशनिश्चरे नगरपालिकाले भने मालपोत कार्यालयको सेवा केन्द्र आफ्नै पालिकामा आउने भए सहमति दिने अन्यथा बेलबारीबाटै सेवा लिने निर्णय गरेका छन् । कानेपोखरी गाउँपालिकाकी अध्यक्ष राजमती इङ्नामले पनि सेवा केन्द्र नदिने हो भने उर्लाबारीभन्दा बेलबारी नै पायक पर्ने बताउनुभयो । उहाँले पालिकाका साबिकका गाविस फुटाएर उर्लाबारी कार्यालयबाट सेवा लिन नसकिने निर्णय भएको जानकारी दिनुभयो । पथरीशनिश्चरे नगरपालिका–४ का वडाध्यक्ष लोककिरण न्यौपानेले नगरका कार्यपालिका बैठकले उर्लाबारीमा आउने मालपोत र नापी कार्यालयमा पथरीशनिश्चरे नजाने निर्णय गरेको जानकारी दिनुभयो । उर्लाबारीभन्दा पथरीशनिश्चरे सबै पालिकाका लागि केन्द्रमा पर्ने र जग्गाका लागि हाल नगरपालिकाको नयाँ भवन बनिरहेको स्थानमा उपलब्ध गराउन सकिने वडाध्यक्ष न्यौपानेले बताउनुभयो ।
पथरीशनिश्चरे नगरपालिकाले भने सेवा केन्द्र नभई पाँच पालिकाको एकीकृत कार्यालय पथरीशनिश्चरे राख्नुपर्ने माग गरेको छ । मालपोत कार्यालय बेलबारीका प्रमुख मदन घिमिरेले असार तेस्रो सातामा भएको पालिकाको संयुक्त बैठकको निर्णय विभागमा पठाएको बताउनुभयो । त्यसयता यस विषयमा भएको प्रगति जानकारीमा नरहेको घिमिरेले बताउनुभयो ।


