इटहरी / आइडियल स्पोर्ट्स एकेडेमीको आयोजनामा चौथो अन्तर विद्यालय इनडोर क्रिकेट लिग २०८२ यहि आउँदो श्रावण २० गतेदेखि सुरु हुने भएको छ। इटहरीमा आयोजना हुने यस प्रतियोगितामा सुनसरी जिल्ला तथा कोशी प्रदेशका करिब ३२ विद्यालयहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
यस लिगको उद्देश्य सुनसरी जिल्लामा ग्रासरुट क्रिकेटको विकास गर्नुका साथै अफ सिजनमा खेलाडीहरूलाई इनडोर खेलमार्फत सक्रिय राख्नु रहेको आयोजकले बताएका छन्। उनीहरूका अनुसार, युवा पुस्तालाई खेलप्रति प्रेरित गर्नु र अभ्यासको निरन्तरता कायम गर्नु प्रतियोगिताको मुख्य ध्येय हो।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई इटहरीमा विगत दुई वर्षदेखि सञ्चालनमा रहेको आइडियल स्पोर्ट्स एकेडेमीमा व्यावसायिक प्रशिक्षकहरूको मार्गदर्शनमा विशेष प्रशिक्षण प्रदान गरिनेछ।
त्यसैगरी, व्यक्तिगत रूपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई सुनसरी जिल्लाकै पहिलो क्रिकेट स्टोरहरूमध्ये एक “आइडियल स्पोर्ट्स” बाट क्रिकेट किट तथा खेल सामग्री पुरस्कारस्वरूप प्रदान गरिनेछ।
आयोजकका अनुसार, प्रतियोगिता मार्फत स्थानीयस्तरका लुकेका प्रतिभा पहिचान गरी भविष्यमा जिल्ला तथा प्रदेशस्तरको क्रिकेटमा योगदान दिन सक्ने खेलाडी उत्पादन गर्ने लक्ष्य लिइएको छ।


