इटहरी । कोशी प्रदेश एथलेटिक्स संघको प्रथम अधिवेशनबाट अध्यक्षमा राजकुमार थापा चयन हुनुभएको छ । अधिवेशनले १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।

संघका संयोजक राजकुमार थापाको सभाध्यक्षतामा सम्पन्न अधिवेशनमा कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य–सचिव कृष्ण बस्नेत (पर्शुराम) प्रमुख अतिथि हुनुहन्थ्यो ।

नवगठित कार्यसमितिमा उपाध्यक्षमा राजेशमान श्रेष्ठ र अमित गुरुङ, सचिवमा नारायण श्रेष्ठ, कोषाध्यक्षमा धनकुमारी लिम्बू चयन हुनुभएको छ । त्यस्तै सदस्यमा मदन कुमार शाह, दिपेश बास्तोला, सुनिल कुमार लालवाणि, शान्ता श्रेष्ठ, देवराज चौधरी, सरोज सिंह लगायत १४ वटै जिल्लाबाट प्रतिनिधित्व हुने गरी समिति विस्तार गरिएको हो। नवनिर्वाचित अध्यक्ष राजकुमार थापाले संघलाई थप सबल र सक्रिय बनाउँदै एथलेटिक्स खेलको विकासमा जुट्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

त्यस्तै, कार्यक्रमका प्रमुख अतिथि कृष्ण बस्नेतले प्रदेश स्तरमा एथलेटिक्सको विकासका लागि संघसँग सहकार्य गर्दै अगाडि बढ्ने धारणा राख्नु भयो । सोही अवसरमा यही साउन १४ गते काठमाडौंमा हुने राष्ट्रिय साधारणसभाका लागि ८ जना प्रतिनिधि पनि चयन गरिएको छ ।

कार्यक्रममा कोशी प्रदेशका विभिन्न जिल्लाबाट आएका खेलकर्मी, संघका पदाधिकारी तथा विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो ।