इटहरी । मोरङको पथरीशनिश्चरे  वडा नं १ को पञ्चायत माविले विश्व सुन्दरी प्रतियोगितामा भाग लिन जाने पूर्व विद्यार्थी रिजु भट्टराईलाई विदाई गरेको छ । विद्यालयकी पूर्व विद्यार्थी भट्टराई नेपालमा मिस ग्लोब जितेर विश्व सुन्दरी प्रतियोगिता भिड्न अल्बानिया जाने तयारीमा हुनुहुन्छ । विद्यालयले एक कार्यक्रमको आयोजना गर्दै सम्मान सहित थप सफलताको शुभकामना दिएको थियो । साथै विद्यालयले विद्यावारिधिको छात्रावृत्ति प्राप्त गरेर अमेरिका जान लाग्नुभएका शिक्षक विवेक सुवेदीलाई पनि विदाई गरेको छ । सुवेदी २०७८ सालदेखि पञ्चायत माविको विज्ञान संकायमा भौतिक विज्ञान विषयमा कक्षा ११ र १२ पढाउँदै आउनुभएको थियो  । शिक्षक सुवेदी र पूर्वविद्यार्थी भट्टराईलाई विद्यालय व्यावस्थापन समिती अध्यक्ष युवराज बास्कोटा र प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीले बधाई, शुभकामना पत्र, खादा र मायाको चिनो प्रदान गर्नुभएको थियो। रिजु भट्टराईलाई पञ्चायत माविको लोगो भएको टि–सट समेत हस्तान्तरण गरिएको थियो । प्रधानाध्यापक बुढाथोकीको सभापतित्वमा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बास्कोटा, सहायक प्रधानध्यापक मोहन शर्मा, विज्ञान संकाय प्रमुख चक्रधर गौतम, प्राध्यापक  गणेश विष्ट लगायतले सम्मानित उहाँहरूलाई शुभ–कामना व्यक्त गर्नुभएको थियो ।