इटहरी । कोशी प्रदेशमा दुई दशकमा हात्तीको आक्रमणबाट ९७ जनाको मृत्यु भएको छ । प्रदेश वन निर्देशनालय धरानका प्रमुख डा। इन्द्रप्रसाद सापकोटाका अनुसार आर्थिक वर्ष २०६२(६३ देखि चालु आर्थिक वर्षको हालसम्ममा झापा, मोरङ, सुनसरी, उदयपुर र इलाममा हात्ती आक्रमणबाट ९७ जनाको मृत्यु भएको हो । सोही अवधिमा ८७ जना गम्भीर र १५ जना सामान्य घाइते भएका उनले जानकारी दिए । उनले प्रदेशका पाँच जिल्लामध्ये हात्तीको आक्रमणमा ज्यान गुमाउनेमा सबैभन्दा बढी झापामा रहेका बताए । छिमेकी मुलुक भारतबाट आउने हात्तीको प्रवेश विन्दु झापा भएकाले पनि बढी जनधनको क्षति हुने गरेको उनले बताए । उनका अनुसार झापामा ७२, मोरङमा १७, सुनसरीमा सात र इलामका एक जनाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ । प्रमुख डा। सापकोटाले सोही अवधिमा झापामा २५, मोरङमा ९, सुनसरीमा ६ र उदयपुरमा एउटा हात्ती मरेका जानकारी दिए । उनले सरकार जति नै स्थानीय पनि गम्भीर हुने हो भने मानव–हात्ती द्वन्द्व न्यूनीकरण हुने विश्वास व्यक्त गरे । हात्ती आक्रमणबाट ज्यान गुमाउनेलाई संघीय सरकारले १० लाख रुपैयाँ क्षतिपूर्ति स्वरुप प्रदान गर्दै आएको छ । घाइतेलाई उपचारका लागि २५ हजारदेखि १ लाख रुपैयाँसम्म उपलब्ध गराउँदै आएको निर्देशनालयका प्रमुख डा। सापकोटाले जानकारी दिए । उनले प्रदेश सरकारले मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि चालु आर्थिक वर्षमा हात्ती प्रभावित क्षेत्रमा बाली बीमा कार्यक्रमका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको बताए । डिभिजन वन कार्यालयमार्फत स्थानीय सरकारसँग समन्वय गरी बजेट विनियोजन गरेको हो ।