इटहरी । नेवार समुदायको सांस्कृतिक पहिचान बोकेको लाखेनाच पूर्वी नेपालका विभिन्न नेवार बस्तीहरूमा नागपञ्चमीदेखि सुरु भएको छ। सांस्कृतिक संरक्षणको उद्देश्यले यस वर्ष विशेष व्यवस्थापनसहित यो लाखे नाच परम्परा अघि बढाइएको हो । पूर्वी पहाडी जिल्ला संखुवासभाको सदरमुकाम खाँदबारी लगायत चैनपुर, सिभुवा, तुम्लिङटारजस्ता मुख्य नेवार वस्तीहरूमा भीमसेन मन्दिरमा पूजा–अनुष्ठान गरी विधिवतरुपमा लाखे निकालिएको छ। नेवा देय दबु संखुवासभाको संयोजनमा सुरु भएको लाखेनाच कृष्णजन्माष्टमीसम्म निरन्तर चल्नेछ । नेवा देय दबु संखुवासभाका अध्यक्ष सीता शाक्यका अनुसार, लाखे नाचलाई मर्यादित र अनुशासित राख्न मादक पदार्थ सेवन, अनधिकृत चन्दा सङ्कलन, हुलहुज्जत जस्ता गतिविधिमा पूर्ण प्रतिबन्ध लगाइएको छ ।

सूचीकृत समूह र संस्थामार्फत मात्र लाखे प्रस्तुत गर्न पाइने व्यवस्था गरिएको छ । तर परम्परा जोगाउन यतिले मात्र पुग्दैन । स्थानीय युवाहरूले यस सांस्कृतिक सम्पदालाई बचाउन अग्रसरता देखाउँदै आएका छन् । खाँदबारी नगरपालिका १ का अध्यक्ष निरन्जन श्रेष्ठ त्यसैमध्ये एक हुन् । उहाँका अनुसार, लाखेनाचबाट संकलित केही रकम सामाजिक काममा पनि लगानी गरिँदै आएको छ। मनोरञ्जनसँगै सामाजिक चेतना फैलाउने यो प्रयासले स्थानीयमा एकताको भावना बढाएको छ।धार्मिक, सांस्कृतिक र ऐतिहासिक पक्ष बोकेको लाखेनाचलाई संरक्षण गर्न स्थानीय तह, समुदाय, विद्यालय तथा सरकारी निकायहरूको समन्वय र सहकार्य अझै सशक्त रुपमा आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ।