इटहरी | तीव्र गर्मीको कारण जनजीवन प्रभावित भइरहेको बेला हेल्पिङ हेन्डस् क्लब इटहरी वडा नम्बर ५ ले सर्वसाधारणलाई लक्षित गर्दै निःशुल्क चिसो पानी वितरण कार्यक्रम सञ्चालन गरेको छ। बढ्दो तापक्रमका कारण दैनिक यात्रामा असुविधा भोगिरहेका नागरिकलाई तत्काल राहत प्रदान गर्ने उद्देश्यले क्लबले इटहरीका विभिन्न स्थानमा यो अभियान सुरु गरेको हो।
क्लबका अध्यक्ष राजेश राईका अनुसार, बाटोमा हिँड्ने बटुवाहरूलाई राहत मिलोस् भन्ने भावनाले अभियान सञ्चालन गरिएको हो। उहाँले आगामी दिनमा यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाउँदै स्थानीय स्तरमा मानवतावादी कामलाई अझ विस्तार गर्ने योजना रहेको बताउनुभयो।
सेवाग्राही चन्द्र बहादुर बस्नेतले यस प्रकारको पहलले दैनिक यात्रुहरूलाई ठूलो राहत पुगेको बताएका छन्। “गर्मीमा बाटोमा हिँड्दा चिसो पानी पाउनु ठूलो सहयोग हो। क्लबलाई धन्यवाद दिन चाहन्छु,” उहाँले प्रतिक्रिया दिनुभयो।
कार्यक्रममा क्लबका सदस्यहरू रोहित गुरुङ, बिनोद कार्की, योगेश खड्का, मनिश बस्नेत, सुनिल भण्डारी, हेमन्त राई, सुयन मगर र ओबेड अन्सारी लगायतको सक्रिय सहभागिता रहेको थियो। स्वयंसेवकहरूले व्यस्त सडक चोक र सार्वजनिक स्थानमा यात्रुहरूलाई चिसो पानी वितरण गरेका थिए।
क्लबका सदस्य रोहित गुरुङका अनुसार, अभियानलाई अझ प्रभावकारी बनाउन आगामी दिनमा विद्यालयहरू, बसपार्क र इटहरीका प्रमुख चोकमा समेत पानी वितरणलाई विस्तार गरिनेछ। उनले क्लबले भविष्यमा सरसफाइ, स्वास्थ्य सचेतना, र विपद् व्यवस्थापनसम्बन्धी कार्यक्रमहरू पनि सञ्चालन गर्ने योजना बनाइरहेको जानकारी दिएका छन्।
स्थानीय बासिन्दाहरूले क्लबको यो कदमलाई सामाजिक उत्तरदायित्व र जनसेवाको उत्कृष्ट उदाहरणका रूपमा व्याख्या गरेका छन्। उनीहरूको भनाइमा यस किसिमका साना–साना पहलहरूले समाजमा सकारात्मक ऊर्जा सिर्जना गर्छन् र समुदायलाई एकआपसमा जोड्ने माध्यम बन्छन्।


