इटहरी। श्रीमानले कोदालो प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ । श्रीमानले कोदालो प्रहार गर्दा गम्भीर घाइते भएकी २२ वर्षीया अनु राईको उपचारका क्रममा मृत्यु भएको हो । पाँचथरको फालेलुङ गाउँपालिका–७ आहाले घर भई सदरमुकाम फिदिम नगरपालिका–१ नाम्दुस्थित माइतीमा बस्दै आएकी राईलाई २७ वर्षीय श्रीमान महेन्द्र तामाङले बुधबार राति कोदालो प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी ९प्रहरी निरीक्षक० रुपेश तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार घरबाट ससुराली आएका तामाङले पारिवारिक विवादमा श्रीमतीमाथि कोदालो प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । कोदालोको पासोले लाग्दा गम्भीर घाइते भएकी राईको शुक्रबार बिहान झापास्थित बिएण्डसि अस्पतालमा उपचारका क्रममा निधन भएको हो । श्रीमतीलाई कोदालो प्रहार गरेर फरार भएका तामाङलाई फिदिम नगरपालिका ६ सिवामा लुकेर बसेको अवस्थामा पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।