इटहरी। फुङलिङ बजार क्षेत्रभित्र रहेका सुँगुरको खोर हटाउन पुनः  दोस्रो पटक फुङलिङ नगरपालिकाले सूचना जारी गरेको छ । यही साउन ११ गते बसेको कार्यपालिकाको ७० औं बैठकले पुनः सुँगुरको खोर हटाउनेसम्बन्धी दोस्रो पटक सूचना जारी गर्ने निर्णय भएका हो । नगरपालिकाले यसअघि गत असार २७ गते पहिलो पटक सुँगुरको खोर व्यवस्थापन गर्न लागि सूचना जारी गरेको थियो । त्यस सूचनाको बेवास्ता गरी स्थानीयले खोर हटाउनुको सट्टा  र्‍यालीसहित विरोध जनाएका थिए । सयौँ स्थानीयले रोजगारको रुपमा सुँगुर पालनको व्यवसाय गरिरहेको हटाउन नहुने अडानका साथ फुङलिङ बजारमा विरोध प्रदर्शन गरेका थिए । जसको सम्बोधन छलफलमा लाग्नको सट्टा नगरपालिकाले पुनः सूचना जारी गरेर यही साउन २२ गते भित्र पूर्ण रुपमा हटाउन निर्देशन दिएको छ । सुँगुरको मलमूत्रले वातावरण, जनस्वास्थ्य तथा अन्य पक्षमा असर गर्ने तथा सेतो लामखुट्टेका फुल र लार्भाका कारण फोहोरमैला फैलिने भएकाले हटाउन सूचना जारी गरिएको नगरपालिकाले जनाएको छ । बर्सातको समयमा मलेरियाका बिरामी फेला पर्नुको प्रमुख कारण सुँगुरको खोर रहेकाले हटाउन निर्देशन दिइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश पौडेलद्वारा जारी गरिएको सूचना उल्लेख गरिएको छ । नगरपालिकाले सूचनामार्फत तोक्मेडाँडा, कफिहाउस, पालसिंह डाँडा, बुद्धचोक बिहिवारे, शेर्पाटोल, दाहालगाउँ, बाझोगरा प्रावि, विरेन्द्रचौक, हुलाक टोल, नवज्योति बोर्डिङ स्कुल, नयाँ बसपार्क, हेलिप्याड, बालमन्दिर विद्यालय, पुरानो गोसलाईन, रिजाल लाइन, भानु स्कुल सेतिधारा, बोझे आसपासका क्षेत्रका खोरहरू व्यवस्थापन गर्न आग्रह गरेको छ । सूचना बमोजिम खोरहरू नहटाएमा नगरपालिकाबाट प्राप्त हुने सम्पूर्ण सेवा सुविधाहरू कटौती गर्ने समेत जनाइएको छ ।