इटहरी । खोटाङको सरस्वती माध्यमिक विद्यालय दिक्तेलका शिक्षक रामबिक्रम थापालाई ‘शहीद मनोज जोशी प्रतिभा पुरस्कार–२०८२’ प्रदान गरिएको छ । शिक्षा, कला, साहित्य, संस्कृति र सामाजिक क्षेत्रमा पुर्याउनुभएको योगदानको सम्मानमा थापालाई दश हजार नगदसहितको पुरस्कृत गरिएको हो । शहीद मनोज जोशीको ३४ औं स्मृति दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई र मनोज स्मृति प्रतिष्ठान खोटाङका अध्यक्ष कुमार आचार्यले संयुक्त रूपमा पुरस्कृत शिक्षक थापालाई नगद राशिसहित दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ निवासी शिक्षक थापाको शिक्षण पेशामा प्रवेश गर्नुअघि तत्कालीन गाविस सचिव पदमा कार्यरत रहेका थिए । शिक्षक थापा विसं २०४८ सालको ऐतिहासिक कर्मचारी आन्दोलनमा सहभागी भएको भन्दै जागिरबाट बर्खास्तमा पर्नुभएको थियो । हरेक वर्ष प्रदान गरिँदै आएको प्रतिष्ठित पुरस्कार गत वर्ष दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ हाटडाँडा निवासी निजामती सेवाबाट निवृत्त छैटौं अधिकृत सन्देश ताम्राकारलाई प्रदान गरिएको थियो । मनोज स्मृति प्रतिष्ठान खोटाङका अध्यक्ष कुमार आचार्यका अनुसार शहीद मनोज–झपेन्द्र स्मृति दिवसको अवसरमा गत साउन १३ गते दिक्तेल बहुमुखी क्याम्पसको हाताभित्र वृक्षरोपण एवम् सरसफाई, शहीद मनोजमार्ग तथा समाधिस्थल सरसफाई र साउन १४ गते जिल्ला अस्पतालका बिरामीहरूलाई फलफूल वितरण गरिएको थियो ।
बिहिबार दिक्तेलको अस्पतालचोकस्थित शहीद जोशीको समाधिस्थलमा श्रद्धाञ्जली सभाको आयोजना गरी शहीद जोशीको शालिकमा माल्यार्पण गरिएको थियो । पुरस्कार वितरण कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियन खोटाङका अध्यक्ष सम्भु तामाङ, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य रेखा राई, शहीद परिवारको तर्फबाट समुन्द्रप्रसाद जोशी, राजनीतिक दलको तर्फबाट नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि सुमनबाबु आचार्य र पूर्व सांसद कुलप्रसाद फुयालले मन्तव्य राख्दै शहीद जोशीको सम्झना गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए ।
विसं २०४८ साउन १५ गते बुधबार नेपाल निजामती कर्मचारी संगठनमा आबद्ध कर्मचारीहरूले दिक्तेलमा निकालेको शान्तिपूर्ण जुलुसमा सहभागी बनेका जोशीको प्रहरीको गोली लागेर ज्यान गएको थियो । तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई सरकारसँग भएको सम्झौता अनुसारको सेवा सुविधा नदिइएको विरोधमा कर्मचारीहरूले निकालेको शान्तिपूर्ण जुलुसमा ऐक्यबद्धता जनाउँदै सहभागी बनेका जोशीलाई दिक्तेलको हेलिप्याडमा प्रहरीको गोली लागेको थियो । घटनाका प्रत्यक्षदर्शीहरूका अनुसार विरोध जुलुस बजार परिक्रमा गरेपछि तत्कालीन प्रमुख जिल्ला अधिकारी भोलाप्रसाद सिलवालको कार्यकक्षतर्फ जानेक्रममा प्रहरीले अन्धाधुन्ध चलाएको गोली शहीद जोशीलाई लागेको थियो । कर्मचारी आन्दोलनमा सहभागी भएको भन्दै सो आन्दोलनमा सहभागी जिल्लाका १३ जना कर्मचारीहरू जागिरबाट हटाइएका थिए । परिवार तथा जिल्लावासीको लामो समयदेखिको मागका बावजुद जोशीलाई नेपाल सरकारले विसं २०७४ माघ २२ गते मात्र शहीद घोषणा गरेको थियो । दिक्तेलका बुबा नारायणप्रसाद जोशी र आमा अम्बिका जोशीको कान्छो छोरा शहीद मनोज जोशीको विसं २०३० असोज २३ गते जन्म भएको थियो । वास्तविक नाम सर्मेन्द्र भए पनि मनोजका नामले परिचित जोशी अखिल नेपाल जनवादी युवा लिग, इन्द्रेणी सांस्कृतिक समाज तथा अनेरास्ववियुमा आबद्ध हुनुहुन्थ्यो । सोही दिनको कर्मचारी आन्दोलन र गोली काण्ड भएको दिनलाई खोटाङमा मनोज स्मृति प्रतिष्ठान, नेपाल निजामती कर्मचारी संगठन र नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले मनोज–झपेन्द्र स्मृति दिवसका रूपमा मनाउँदै आएको छ ।


