इटहरी । मोरङको मिक्लाजुङ गाउँपालिकाले अपांगता भएका ३८ जना व्यक्तिहरूलाई आवश्यक सहयोग सामग्री वितरण गरेको छ । शुक्रबार सम्पन्न कार्यक्रममा शारीरिक, मानसिक तथा बहुअपांगता भएका व्यक्तिहरूलाई ट्राईसाइकल, व्हीलचेयर, श्रवण यन्त्र, लठ्ठी लगायतका सामग्री प्रदान गरिएको हो। कार्यक्रम मिक्लाजुङ गाउँपालिकाको स्वास्थ्य शाखाको समन्वयमा सम्पन्न भएको हो। स्वास्थ्य शाखा प्रमुख चिन्तामणि पोखरेलले अपांगता रोकथाम तथा पुनःस्थापनाको अभियान अन्तर्गत विशेष आवश्यकता भएका नागरिकहरूलाई यस्ता सामग्री सहयोग गरिएको जानकारी दिनुभयो। गाउँपालिका अध्यक्ष बबीकुमार राईले अपांगता भएका व्यक्तिहरूलाई आवश्यक परेमा गाउँपालिकामा फोन मार्फत सम्पर्क गरेर सहयोग सामग्री माग्न सकिने व्यवस्था गरिएको जानकारी दिनुभयो। त्यसैगरी, उपाध्यक्ष दिनेश पौडेलले अपांगता भएका नागरिकहरू पनि समाजका बराबरी सदस्य भएको उल्लेख गर्दै स्थानिय सरकार सधैं उनीहरूको साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। गाउँपालिकाले सामाजिक न्याय र समावेशीताको अभ्यास स्वरूप अपांगता भएका नागरिकहरूलाई यो प्रकारको सहयोग प्रदान गर्दै आएको जनाएको छ ।


