इटहरी । राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडको आयोजनामा “नेपालको कृषि रुपान्तरण फ्रम सोइल टु सक्सेस विषयक एक दिने अन्तरक्रिया तथा छलफल कार्यक्रम इटहरीमा गरिएको छ । कार्यक्रमको मुख्य उद्देश्य कृषि क्षेत्रको समग्र रुपान्तरण, सम्भावित लगानीका अवसरहरूको पहिचान तथा दीर्घकालीन रणनीतिक योजना निर्माण रहेको थियो । “कृषिमा लगानी ः अबको प्राथमिकता“ भन्ने नारासहित आयोजित लगानीकर्ताहरूको भेलाले कृषक सशक्तिकरण, कृषि व्यवसाय विस्तार र आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास लिएको आयोजकले जनाएको छ । राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेड प्रादेशिक कार्यालय जनकपुरका प्रमुख रविन्द्र कुमार पंजियारका अनुसार, कार्यक्रममा अनुभवी कृषक, नीति निर्माता, निजी क्षेत्रका लगानीकर्ता तथा कृषि विज्ञहरूको सहभागितामा छलफल गरिएको थियो। उहाँले नवप्रवर्तन, साझेदारी र लगानीका नयाँ ढोका खोल्ने अपेक्षा गरिएको बताउनु भयो । कार्यक्रममा बोल्दै राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडका अध्यक्ष विशाल हुमागाईले कम्पनीले कृषि क्षेत्रको नीति निर्माणलाई व्यवस्थित र प्रभावकारी बनाउन निरन्तर पहल गर्दै आएको उल्लेख गर्नुभयो । कार्यक्रममा राष्ट्रिय कृषि कम्पनीसँग आबद्ध पदाधिकारीहरू, विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, कृषक, व्यवसायी लगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।


