इटहरी । एसियाली विकास बैङ्कको सहयोगमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको उर्लाबारी खण्डमा नयाँ विवाद सिर्जना भएको छ ।  उर्लाबारी नगरपालिकाको पूर्वी सिमाना मावाखोलादेखि बक्राहाखोलाबिचको तीन किलोमिटर सडकको उत्तरतर्फ डुबान भएपछि नगरपालिकाले बस्तीको किनारबाटै नाला राख्नुपर्ने माग राखेको छ । बक्राहाखोला पूर्वोत्तरको बस्तीभन्दा सडक झन्डै १० फिट उचाइमा निर्माणाधीन छ । सडकको उचाइ क्रमशः घट्दै गए पनि उत्तरतर्फको पानीको निकास बन्द हुँदा उक्त क्षेत्रमा डुबान हुन थालेको हो । सडकमाथि बनेको नालाले बस्तीको पानी दक्षिणतर्फ जान सक्ने अवस्था छैन ।

लगातार पाँचरछ घण्टा पानी पर्दा उर्लाबारी–४, ५, ६ र ७ का सडक किनार क्षेत्रका बस्ती डुबान हुने भएकाले यतिबेला नै समस्याको समाधान खोज्न लागिएको नगरप्रमुख गङ्गाप्रसाद खरेलले बताउनुभयो । सडक विभाग, एसियाली विकास बैङ्क आयोजना निर्देशनालयको काँकडभिट्टा–लौकही सडक योजना पश्चिम खण्ड इटहरीका कार्यालय प्रमुख जगत प्रजापतिका अनुसार साबिकका पूरा कलभर्टको निकास बन्द भएकाले यो समस्या आएको हो । साबिकमा जहाँ जहाँ पुल र कलभर्ट थिए, त्यहाँ नयाँ पुल कलभर्ट बनायो । हाल आएर ती पुल र कलभर्टबाट उत्तरतर्फ जम्मा भएको पानी दक्षिणतर्फ जान सक्ने अवस्था छैन । आयोजनाले सर्भे गर्दा नगरपालिकाको पूर्वतर्फको पानी ढल बनाएर खोलामा हाल्न सकिने देखिँदैन ।

पानी जम्मा हुने ठाउँभन्दा खोलाको सतह अग्लो भूभागमा रहेको छ । नगरप्रमुख खरेलले सङ्घीय खानेपानी तथा ढल निकास व्यवस्थापन आयोजनासँग ढल निर्माणका विषयमा परामर्श भएर काम सुरु गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार उत्तरतर्फ मावा र बक्राहाबिचको पानी दुवै खोलामा हाल्न सकिने गरी नक्साङ्कन भइरहेको छ । यता राजमार्ग विस्तार आयोजनाका प्रमुख प्रजापतिले पनि सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले उत्तरतर्फको पानी खोेलामा हाल्नका लागि काम गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले यो समस्या नगरवासीकै कारण आएको बताउनुभयो ।