इटहरी । झापाको दमक १० सेतुमारीसँग मोरङको उर्लाबारी आमबारी सिंजुवा कृषि सडकलाई जोड्ने मावाखोला पुलको पूर्वी भाग भत्किन थालेको छ । पुलको दायाँ बायाँबाट लगातार माटो झर्न थालेपछि हाल पुलबाट मुस्किलले मोटरसाइकल र अटोमात्र ओहोर दोहोर गरिरहेका छन् । विराटनगर र दमकलाई छोटो दूरीले जोड्न २०७१ सालको चैतमा यो पुलको शिलान्यास भएको थियो । ढिलो गरी निर्माण सम्पन्न पुल ७५ दशमलव ४५ मिटर लम्बाइको छ ।

पुल बनेर पनि चार वर्षसम्म यो पुलले मोरङसँग सम्पर्क स्थापना गर्न सकेको थिएन । पुल पश्चिमतर्फको झण्डै ५ सय मिटर लामो पहुँच मार्ग नबन्दा स्थानीयका लागि पुल ‘लङ्काको सुन’ जस्तै बनेको थियो । पुल निर्माण भएको पाँच वर्षपछि मोरङतर्फ पहुँच मार्ग बन्यो । तर वर्षेनी मावाले पहुँच मार्ग बगाउँदा हरेक वर्ष उर्लाबारी–९ का बासिन्दाले दुख पाउने गर्छन् । हाल मोरङतर्फ मावामा तटबन्ध भयो । खोलाको धार क्रमश पूर्व हानिँदा झापातर्फ पुल भत्किन थालेको छ । उर्लाबारी–९ का वडाध्यक्ष नरबहादुर मोक्तानले झापातर्फको मर्मत दमक नगरपालिकाले गर्ने भएकाले आफूले नगरप्रमुख रामबहादुर थापालाई सूचना दिइसकेको जानकारी दिनुभयो ।

दमक–१० का वडाध्यक्ष राजेन्द्रप्रसाद भण्डारीले स्थलगत निरीक्षण गरी तत्कालका लागि विपद् व्यवस्थापन गरिने र हिउँदमा थप काम गर्ने बताउनुभयो । वीटी निर्माण सेवाले ४ करोड ४० लाख रुपियाँमा निर्माण गरेको यो पुल सुरुमा दुई सय मिटर बन्ने गरी निर्णय भएको थियो । तर पुल ७५ दशमलव ४५ मिटरको मात्र बन्यो । त्यसैले कहिले पूर्व तर्फबाट र कहिले पश्चिम तर्फबाट खोलाले दुःख दिइरहेको स्थानीयको भनाइ छ ।