इटहरी । उर्लाबारी नगरपालिका–१ मा रहेको प्रगतिशील सामुदायिक वन उपभोक्ता समूहले महिला उपभोक्ताहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले निर्णय लेखन तथा लेखा सम्बन्धी दुई दिने तालिम सम्पन्न गरेको छ। तालिममा स्थानीय महिला उपभोक्ताहरूको सक्रिय सहभागिता रहेको थियो। उनीहरूलाई निर्णय लेखन, बैठकको कार्यविवरण तयार गर्ने तरिका, आर्थिक अभिलेख संकलन, लेखा परीक्षणका आधारभूत पक्षहरू लगायतका विषयमा व्यवहारिक जानकारी प्रदान गरिएको थियो। तालिम समापनमा समूहका अध्यक्षले महिला सशक्तिकरण र सुशासनमा महिलाको सहभागिता अत्यन्त आवश्यक भएको बताए। उनले महिलाहरूलाई आर्थिक कारोबार र संस्थागत निर्णय प्रक्रियामा दक्ष बनाउने समूहको प्रतिबद्धता पनि व्यक्त गरे। तालिम प्रशिक्षकका रूपमा अनुभव प्राप्त व्यक्ति सहभागी थिए। तालिम सम्पन्न भएपछि सहभागी महिलाहरूले यस्तो अभ्यासले आत्मविश्वास बढाएको र भविष्यमा संस्थागत भूमिकामा क्रियाशील हुन थप सहज हुने प्रतिक्रिया दिएका छन्। सबडिभिजन कार्यालय मङ्गलबारेका प्रमुख नवीनराज दाहाल, सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश कमिटी सचिवालय सदस्य एन कुमारी निरौला लगायतले शुभकामना मन्तव्य राखेका थिए। समूहले आगामी दिनमा यस्ता क्षमता विकासका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।


