इटहरी /  इटहरी उपमहानगरपालिकाका नगर प्रमुखप्रति सामाजिक सञ्जालमार्फत आलोचना गरेपछि स्थानीय युवती ताजिना बिष्टलाई प्रहरीले नियन्त्रणमा लिएको घटनाले अभिव्यक्ति स्वतन्त्रताको सवालमा नयाँ बहस सुरु गरिदिएको छ।

तीन घण्टासम्म प्रहरी नियन्त्रणमा राखिएपछि "आइन्दा मेयरको विरोध नगर्ने" सर्तमा रिहा गरिएको दाबी स्वयं पीडितले गरेकी छन्। घटनाले स्थानीय प्रशासन र प्रहरी निकायको भूमिकामाथि प्रश्नचिन्ह खडा गर्दैछ।

के थियो घटनाको पृष्ठभूमि?

ताजिना बिष्टले सामाजिक सञ्जालमा सार्वजनिक एक भिडियोमार्फत इटहरीको सडकको दयनीय अवस्थाबारे व्यङ्ग्यात्मक शैलीमा टिप्पणी गरेकी थिइन्। पानी जमेको सडकमा हिँड्दै उनले "चौध अञ्चल सतत्तर जिल्ला मध्यकै फटा मेयर" भन्दै नगर प्रमुखको कार्यशैलीप्रति आक्रोश व्यक्त गरेकी थिइन्।

उक्त भिडियो सार्वजनिक भए पछि मेयरका स्वकिय सचिव को ठाडो निवेदनको आधारमा उनी प्रहरी नियन्त्रणमा परेको जानकारी प्राप्त भएको छ। उनलाई प्रहरी कार्यालयमा तीन घण्टा राखिएको थियो र विरोध नगर्ने सर्तसहित अभिव्यक्ति स्वेच्छाको कागज गराएर मात्रै छाडिएको हो।

एक जना नागरिकले विकास निर्माण र जनप्रतिनिधिको जवाफदेहीतामाथि टिप्पणी गर्नु लोकतान्त्रिक अधिकारभित्र पर्छ। तर यसरी अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गरेकै कारण नियन्त्रणमा लिइनु लोकतान्त्रिक मान्यतामाथि चोट पुगेको भन्दै स्थानीय अधिकारकर्मी राजनीतिज्ञ साथै युवाहरूले सामाजिक सञ्जालमा विरोध जनाइरहेका छन्। 

समाजमा चर्किंदै विरोधको स्वर

घटनापछि स्थानीय बासिन्दा, सामाजिक अभियन्ता तथा सञ्चारकर्मीहरूबीच व्यापक विरोध देखिएको छ। कतिपयले सामाजिक सञ्जालमार्फत 'नागरिकको आवाज दमन गर्न पाइँदैन', 'प्रहरी नागरिकको होइन, नेताको आदेश पालना गर्दैछ' भन्ने जस्ता प्रतिक्रियासमेत सार्वजनिक गरेका छन्।


वर्तमान नगर प्रमुखमाथि पहिलेदेखि नै पदिय दुरुपयोग, निरंकुशता र जनउत्तरदायित्वको अभावजस्ता आरोप लाग्दै आएको पृष्ठभूमिमा यो घटनाले आलोचना थप चर्काएको छ।

सामाजिक सञ्जालमा कस्ता प्रतिक्रिया आए त ।

इटहरीका युवा सुनिल कार्की लेख्छन् 

लोकतन्त्रमा आलोचना स्वीकार गर्ने संस्कार हुनुपर्छ, विरोध गर्नेहरूमाथि दमन होइन। यदि राज्यले आलोचना गर्नेहरूमाथि यति कठोर व्यवहार गर्छ भने, यो लोकतन्त्रको अपमान हो।

इटहरीले कुन संस्कारको बिकास गर्न खोजदैछ ?? गम्भीर प्रश्न चिन्ह आज इटहरीमा उठेको छ नि हैन र??? कोशी प्रदेश क्षेत्र नम्बर २ “क” वाट निर्वाचित माननीय Rewati Bhandari अहिले कोशी प्रदेशको आन्तरिक तथा कानून यातायात मन्त्री हुनूहुन्छ, यस्तो घटनाले इटहरीलाई लज्जावोध गराएको छ! मन्त्री ज्यूको पनी ध्यान यता केन्द्रीत गर्न चहान्छु!!!! 

 लाक्पा तामाङ लेख्छन् 

अब देखि ईटहरी उप महानगरपालिकामा भएको भ्रष्टाचारको बिराेध नगर्नु भन्दै एकपटकलाई छाडिदिएकाे रे । अब बाेल्ने मात्रै हाेईन ८४ मा हाम्रो टिमबाट सामाजिक अभियानता Tazina Bista ईटहरी उपमहानगरपालिकाकाे मेयरकाे उम्मेदवार । सबै ईटहरीबासीहरूले उहाँ जतिकाे शाहसी महिलालाई साथ दिनुहाेला ।

ध्रुव धनकुटा लेख्छन् इटहरीकी स्वतन्त्र नागरिक अगुवा तथा सामाजिक अभियन्ता Tazina Bista माथि बिना कारण प्रहरी प्रशासन लगाएर गिरफ्तार गरिए इटहरीका मेयर हेमकर्णजीले महँगो मुल्य चुकाउनु पर्नेछ।

Tazina Bista इटहरी उपमहानगरपालिकाको आउने समयको जनपृय मेयर हुने बलियो सम्भावना बोकेकी सामाजिक अभियन्ता हुन् ।

त्यस्तै ताजिना बिष्टले आफू सुरक्षित रहेको भन्दै सामाजिक सञ्जालमा पोस्ट आफ्नो फोटो पोस्ट गर्दै I Am Safe समेत लेखेर फेसबुकमा पोस्ट गरेकी छिन्।

प्रहरीबाट छुटेपछि कविता मार्फत यसो भनिन्

ताजिना बिष्टले स्थानीय सरकारका गतिविधिका बिषयमा आवाज उठाउँदा प्रहरी नियन्त्रणमा पर्नु परेको जनाउँदै कविता मार्फत  स्थानीय सरकार र प्रहरीले आफुमाथि गरेको भन्दै तितो पोखेकी छन् ।

यस्तो छ,उनले लेखेको कविता
“सरकार रिसाउँछ, प्रहरी समाउँछ“
बोले जनता — चुप लगाइन्छ,
साँचो भन्यो — दोष लगाइन्छ ।
कविता लेखे — देशद्रोह ठहर,
प्रश्न ग¥यो — हत्कडीको सफर ।
संसदमा गफै गफ घुम्छ,
जनताको पीडा जेलमै सुँघ्छ ।
बोल्न खोजे — धम्की दिन्छ,
चुप लागे — करको चपेटी ।
सरकार रिसाउँछ, प्रहरी समाउँछ,
साँचो बोल्नू आज अपराध मानिन्छ।
ताजिना बिष्ट
आज म प्रहरीको दाएरामा परे
सरकारलाइ र प्रहरीलाइ नमस्कार सफल हुनु भएकोमा ।