इटहरी | नेपाल आदिवासी जनजाति महासंघ इटहरी उपमहानगर समन्वय परिषद् सचिवालयको आयोजनामा यही साउन २४ गते शनिबारका दिन ३१ औं विश्व आदिवासी दिवस इटहरीमा झाँकी र सांस्कृतिक उत्सवसहित मनाइने भएको छ।
संघले बिहीबार इटहरीमा पत्रकार सम्मेलनको आयोजना गरी ‘प्राकृतिक श्रोत, जल, जमिन र जङ्गलमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर, UNDRIP / ILO-169 सम्बन्धी सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गर’ भन्ने मूल नाराका साथ दिवस मनाइने जानकारी गराएको हो।
संघका अनुसार यो दिवस आदिवासी जनजातिहरूको गौरवमय इतिहास, मौलिक अधिकार, भाषा, संस्कृति र पहिचानको संरक्षण र प्रवर्द्धनका लागि मात्र नभई आत्मनिर्णयको अधिकारको दाबी गर्ने अवसर पनि हो।
आदिवासीहरूको भाषा ,धर्म र संस्कृतिलाई जगेर्ना गर्नका निम्ति कार्यक्रम गरिने महासंघ इटहरी अध्यक्ष चिरहाङ राईले बताउनुभयो ।
कार्यक्रम इटहरी संगीत चोकमा बिहान भेला भई भव्य झाँकीसहित नगर परिक्रमा गरी पश्चिमको टेम्पु स्टेण्डमा पुगेर सम्पन्न गरिने छ। कार्यक्रममा राष्ट्रिय गायक तथा संगीतकार अनिल कोयू राई र अन्य स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति समेत रहने मूल समारोह समितिका संयोजक चन्द्र बहादुर तामाङले जानकारी दिनु भयो ।
कार्यक्रमको प्रमुख अतिथि इटहरी उपमहानगरपालिकाका नगर प्रमुख हेमकर्ण पौडेल रहने छन् भने विशेष अतिथिमा उपप्रमुख संगीता कुमारी चौधरी, नेपाल आदिवासी जनजाति महासंघ प्रदेश १ का अध्यक्ष ध्रुव कुमार सुब्बा, राजनीतिक दलका प्रतिनिधि तथा आदिवासी अभियन्ताहरूको उपस्थिति रहनेछ।


