इटहरी । मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ३ मा अवस्थित श्री कालिका सामुदायिक माध्यमिक विद्यालय, धोवेनीबाट कक्षा–१२ को परीक्षामा सहभागी भएका सिभिल ईन्जिनियरिङ समूहका ३७ विद्यार्थी उत्तीर्ण भएका छन्। विद्यालयमा अध्ययन गरेका यस समूहका सबैले ग्रेडेड प्रणाली अनुसार सतप्रतिशत नतिजा हासिल गरेका हुन् । यसका साथै शिक्षा र वाणिज्य संकायका विद्यार्थीहरू पनि सफल भएका छन्। मिक्लाजुङ गाउँपालिकाभरि सिभिल ईन्जिनियरिङ पढाइ हुने एक मात्र विद्यालयका रूपमा श्री कालिका मा.वि. स्थापित छ । मिक्लाजुङका ९ वटै वडाबाट विद्यार्थीहरू यो विषय अध्ययन गर्न आउने भएकाले गाउँपालिकाले विशेष बस सेवा उपलब्ध गराएको विद्यालय प्रशासनले जनाएको छ । विद्यालयमा स्वास्थ्य कक्ष, संगीत कक्ष, खेलकुद सामग्री, विज्ञान प्रयोगशाला तथा पुस्तकालय लगायतका शैक्षिक पूर्वाधारहरू विद्यालयकै परिसरमा उपलब्ध छन्। साथै, शिक्षण सिकाइ प्रक्रियालाई प्रविधिमैत्री बनाउँदै विद्यालयले चार वर्ष अघि नै प्रत्येक कक्षा कोठामा सिसी क्यामेरा जडान गरेको प्रधानाध्यापक मात्रिका प्रसाद न्यौपानेले जानकारी दिनुभयो ।


