इटहरी । सरकारले चिया श्रमिकलाई उपेक्षा गरेको र व्यवस्थापन पक्षले सेवा सुविधा नबढाएको भन्दै चिया श्रमिक आन्दोलित भएका छन् । श्रमिक आन्दोलित भएपछि झापाका चार वटा बगानको काम ठप्प छ । भद्रपुर–२ को गौरीशङ्कर, सूर्य र ऋषिगणेश तथा मेचीनगर–३ को नाज स्टेटका दुई सयभन्दा बढी श्रमिक काम छाडेर आन्दोलनमा छन् । उनीहरूले स्टेटपरिसरमा दिनहुँ नाराजुलुस गरिरहेका छन् । भद्रपुरमा साउन १८ र मेचीनगरमा साउन २० देखि काम ठप्प पारेर श्रमिक आन्दोलनमा रहेको नेपाल चिया–कफी श्रमिक युनियनका केन्द्रीय अध्यक्ष सन्तकुमार राईले बताउनुभयो । युनियनसहित नेपाल चिया बगान श्रमिक सङ्घ र अखिल नेपाल चिया मजदुर सङ्घले संयुक्त रूपमा आन्दोलन गरिरहेका छन् ।

श्रमिकले भर्खरै सरकारले अन्य क्षेत्रका श्रमिकका लागि ज्याला बढाएको तर चिया क्षेत्रका श्रमिकका लागि उपेक्षा गरेको भन्दै विरोध जनाएका छन् । उनीहरूले श्रमिकलाई सम्झौताबिनै काम लगाएको, सम्झौताबिना काम लगाउँदा आफूहरू सरकारले व्यवस्था गरेको सामाजिक सुरक्षा सुविधाबाट वञ्चित भएको पनि बताएका छन् । श्रमिकले श्रम ऐन अनुसार २०८२ वैशाख ३१ गते नै गौरीशङ्कर टी स्टेट प्रालि, ऋद्धिगणेश, सूर्य र नाज चिया बगान तथा चिया प्रशोधन उद्योगमा ३० दिनको अल्टिमेटम पनि दिएका थिए । तर, रोजगारदाताले २१ दिनसम्म वार्तामा नबोलाएकाले श्रम कार्यलयमा उजुरी गरेपछि श्रमले दुई पटक वार्ता बोलाए पनि रोजगारदाता पक्षबाट सबैका आधिकारिक प्रतिनिधि नआएको अध्यक्ष राईले बताउनु भयो ।

गौरीशङ्करमा ७०, ऋद्धिगणेशमा २५, सूर्यमा ७० र नाज टी स्टेटमा ६५ श्रमिक कार्यरत छन् । आन्दोलनरत श्रमिक र रोजगारदाता (नेपाल चिया उत्पादक सङ्घ) बिच बिहीबार भद्रपुरमा वार्ता भए पनि बिनानिष्कर्ष टुङ्गिएको छ । भद्रपुर उद्योग सङ्घमा भएको वार्तामा सङ्घका प्रतिनिधिले आफूहरूका माग पूरा गर्न नसक्ने बताएपछि वार्ता बिनानिष्कर्ष टुङ्गिएको श्रमिक नेता सन्तकुमार राईले जानकारी दिनुभयो । सरकारले प्रत्येक दुई वर्षमा चिया श्रमिकको ज्याला हेरफेर गर्ने गरेको छ । श्रमिकले पाइरहेको प्रतिदिन पाँच सय रुपियाँ ज्यालामा १३ प्रतिशतले हुने ६५ रुपियाँ बढाउन माग गरेका हुन् । वार्तामा अध्यक्ष राईसहित तीन वटै श्रमिक सङ्घका प्रतिनिधि, रोजगारदाताका तर्फबाट नेपाल चिया उत्पादक सङ्घका चण्डी पराजुली, जेपी शर्मा, छत्र गिरी र भक्ति अधिकारीलगायत सहभागी हुनुहुन्थ्यो ।