इटहरी । मोरङको पथरी शनिश्चरे नगरपालिका–२ मा रहेको रेडस्टार अङ्ग्रेजी माध्यमिक विद्यालयले कक्षा १२ को राष्ट्रिय परीक्षा बोर्ड २०८२ मा नेपाल टप गर्ने विद्यार्थीहरूलाई नगद सहित सम्मान गरेको छ । विद्यालय प्राङ्गणमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत ३.९६ जीपीए ल्याई देशमै सर्वोत्कृष्ट नतिजा हासिल गर्न सफल विद्यार्थी चन्दन शाह र प्रवीण कट्टेललाई पथरी शनिश्चरे नगरपालिकाका नगरप्रमुख मोहनप्रसाद तुम्बापोले नगद ५०÷५० हजार रुपैयाँसहित खादा, रुद्राक्ष माला र टीका लगाई सम्मान गर्नुभएको हो । ब्रिटिस काउन्सिलबाट अन्तर्राष्ट्रिय स्कूल अवार्ड प्राप्त गर्न सफल विद्यालयका निर्देशक तथा प्राचार्य टी.एन. तिम्सिनाका अनुसार कूल ५ लाख १० हजार ९ सय ८७ विद्यार्थी सहभागी कक्षा १२ को परीक्षाबाट रेडस्टारका यी दुई विद्यार्थी देशैभरबाट प्रथम भएका हुन्। रेडस्टारबाट कक्षा १२ को परीक्षामा सहभागी कूल २ सय ७० जना सहभागी मध्ये २ सय ६२ जना ग्रेडेड र ८ जना ननग्रेडेड भएका छन् । उक्त परीक्षामा ३१ जनाले ३.६ भन्दा माथि, १२७ जनाले ३.२ भन्दा माथि, ८९ जनाले २.८ भन्दा माथि र १५ जनाले २.४ भन्दा माथिको जीपीए प्राप्त गरेका छन्। त्यसैगरी सोही कार्यक्रममा कक्षा १२ मा पथरी शनिश्चरे नगरकै सबै विषय समूहमा सर्वोत्कृष्ट ३.९२ जीपीए ल्याउने मनिषा पोखरेल र प्रमिश रिजाललाई पनि नगरप्रमुखले नगदसहित सम्मान गर्नुभएको थियो । सम्मान कार्यक्रमपछि सम्मानित विद्यार्थी शाह र कट्टेलले पनि आफ्ना भनाइ राख्दै विद्यालय, शिक्षक, अभिभावक तथा साथीहरूको योगदानप्रति आभार व्यक्त गर्नुभएको छ । रेडस्टार विद्यालयले यसअघि पनि लगातार उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ । विद्यालयका अनुसार गत वर्षको एसईई परीक्षामा कक्षा १० का सतिश आचार्य र अजय लिम्बुले ४.०० जीपीए ल्याएका थिए । यसैगरी हालै प्रकाशित बीबीएस प्रथम वर्षको नतिजामा छात्रा कृतिका भट्टराईले ७६.८० प्रतिशत अंक ल्याउँदै यस क्षेत्रमै अब्बल नतिजा ल्याउन सफल हुनुभएको थियो ।


