इटहरी । लागुऔषध मुद्दामा पक्राउ परेका एक जना आरोपी मोरङको उर्लाबारीबाट फरार भएका छन् । अस्पतालको झ्यालबाट हाम फालेर झापाको दमक नगरपालिका–३ का २७ वर्षीय नगिन लिम्बू भागेका हुन् । उनलाई इलाका प्रहरी कार्यालय उर्लाबारीको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको थियो । उपचारका क्रममा उनी शनिवार बिहान करिब ३ः१५ बजे अचानक अस्पतालबाट भागेको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन् । साउन २१ गते पक्राउ परेका लिम्बूलाई पेट दुख्ने समस्या देखिएपछि शुक्रबार राति ११ः३० बजे उर्लाबारीकै मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा भर्ना गरिएको थियो । अनुसन्धानका क्रममा लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन प्रहरीले उनलाई ७ दिनको म्याद थप गरी हिरासतमा राखेको थियो ।


