इटहरी । रामधुनी नगरपालिका क्षेत्रमा सञ्चालित एक मात्र १५ बेडको साई हस्पिटल प्रा.लि.ले ‘विद्यालयसँग साई हस्पिटल’ कार्यक्रमको सुरुवात गरेको छ । वडा नम्बर ५ मा सञ्चालित आरम्भ विद्या मन्दिर विद्यालयबाट शुक्रबार देखि कार्यक्रमको शुभारम्भ गरिएको हो । हस्पिटलका अनुसार प्रत्येक हप्ता फरक–फरक विद्यालयमा पुगेर विद्यार्थीलाई प्राथमिक उपचार, शारीरिक सरसफाई, पोषण, मानसिक स्वास्थ्य, किशोरीहरुमा हुने रजश्वाला, खानपान लगायतका विषयमा जानकारी दिने र स्वास्थ्य परीक्षण गर्ने योजना रहेको छ । यो कार्यक्रमले विद्यार्थी मात्र नभई, अभिभावक र समुदायलाई समेत स्वास्थ्यप्रति सजग बनाउन मद्दत पु¥याउने अपेक्षा रहेको हस्पिटलका जनसम्पर्क अधिकारी डिल्लीराम भण्डारीले बताउनुभयो । त्यस्तै, हस्पिटलले सुगर, युरिक एसिड, कोलेस्ट्रोल, रक्तचाप, हिमोग्लोबिन जस्ता विभिन्न स्वास्थ्य परीक्षण लगायत सेवा दिँदै आएको छ । रामधुनी क्षेत्रका बासिन्दाले उपचारका लागि टाढासम्म जानुपर्ने बाध्यता अन्त्य भएको हस्पिटलको दावी छ । १५ बेड क्षमताको साई हस्पिटलमा हाल विभिन्न प्रकारका सेवा उपलब्ध छन् । हस्पिटलमा बाह्य बिरामी (ओपीडी) मार्फत सामान्य रोग, बालरोग, स्त्रीरोग, छाला रोग र हाडजोर्नी सम्बन्धी उपचार तथा परामर्श दिइन्छ । भर्ना सुविधा सहित निगरानीपूर्वक उपचारको व्यवस्था समेत गरिएको छ । २४ घण्टा सञ्चालन हुने आपतकालीन सेवा मार्फत दुर्घटना तथा अन्य आकस्मिक अवस्थाको उपचार गरिन्छ । हस्पिटलले विपन्न नागरिकहरुको निःशुल्क उपचार समेत गर्ने गरेको सञ्चालक दुर्गा फुँयालले बताउनुभयो । यस बाहेक, हस्पिटलमा २४ घण्टा फार्मेसी सेवा उपलब्ध छ भने मातृ तथा नवजात सेवा अन्तर्गत सामान्य प्रसूति, गर्भवती परीक्षण र नवजात स्वास्थ्य परीक्षण गरिन्छ । शारीरिक पुनस्र्थापना तथा व्यायाम उपचारका लागि फिजियोथेरापी सुविधा पनि रहेको छ । विद्यालय तथा समुदायस्तरमा स्वास्थ्य शिक्षा र सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको हस्पिटलले विभिन्न शल्यक्रिया समेत गर्ने गरेको छ । हस्पिटलले विद्यालयसँगको सहकार्यबाट समुदायमै स्वास्थ्य सेवा विस्तार हुने र बालबालिकामा बाल्यकाल देखि नै स्वास्थ्य सचेतना बढ्ने विश्वास लिएको छ ।


