इटहरी । कोशी प्रदेश कराते महासंघको अध्यक्षमा मोरङका प्रभाकर राना मगर (रिक्की) निर्वाचित हुनुभएको छ । बुढीगंगा गाउँपालिका स्थित जेसीज भवनमा सम्पन्न प्रथम प्रदेश अधिवेशनबाट सर्वसम्मत रूपमा राना मगरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो । अधिवेशनबाट उपाध्यक्षमा इलामका कमी राई र उदयपुरका रविन राई, सचिवमा खोटाङका मिलन कसजु, सहसचिवमा सुनसरीका अनिश राजधामी र कोषाध्यक्षमा झापाकी रेनुका राई निर्वाचित हुनुभएको छ । त्यस्तै, सदस्यमा इलामकी मनकुमारी मुखिया, संखुवासभाका दिपक मगर, ओखलढुङ्गाका राजन दाहाल र झापाका संजयकुमार साह निर्वाचित भएको निर्वाचन अधिकृत कालिदास भट्टराईले जानकारी दिनुभयो । अधिवेशनमा प्रमुख अतिथि कोशी प्रदेश खेलकुद विकास बोर्डकी उपाध्यक्ष विन्दिया कार्कीले खेलकुदले प्रदेश र देशको पहिचान अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन सक्ने भएकाले कराते जस्ता खेलका गतिविधिहरू विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँका अनुसार, यस प्रकारका खेलकुद महासंघहरू मार्फत युवा पुस्तालाई अनुशासित, अनुकरणीय र प्रतिस्पर्धी बनाउन सकिन्छ । निर्वाचित अध्यक्ष प्रभाकर राना मगर (रिक्की)ले आफ्नो कार्यकालमा कराते खेललाई प्रदेशका सबै जिल्लामा समान रूपमा प्रवद्र्धन गर्ने प्रतिबद्धता जनाउँदै, खेलाडीहरूको तालिम, आवश्यक पूर्वाधार र प्रतियोगिताको अवसर विस्तारमा प्राथमिकता दिने बताउनुभयो । कार्यक्रममा कोशी प्रदेश खेलकुद विकास बोर्ड सदस्य प्रदिप भगत थारू, नेपाल कराते महासंघका केन्द्रीय सदस्य मिलन राज प्रसाई, सितोरियो सोबुकानका केन्द्रीय महासचिव धोजमान मोक्तान सहित विभिन्न जिल्लाका कराते प्रशिक्षक, खेलाडी तथा पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।


