इटहरी । संगीत प्रतिष्ठान टोल विकास संस्थाले दोस्रो तीज विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष विकाश भण्डारीको अध्यक्षता र इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगिता कुमारी चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा कलाकार सुपर सुरेश (कार्की) सहित कल्पना तामाङ, सिम्ला धिताल र टेनिसा परियारले साङ्गीतिक प्रस्तुति दिनुभएको थियो । सहभागी महिलाहरू परम्परागत भेषभूषामा सजिएर तीजको उल्लासमय गीत, नृत्य र रमाइलोमा सहभागी भएका थिए । प्रमुख अतिथि चौधरीले तीज केवल नाचगान र रमाइलोको पर्व मात्र नभई संस्कार, सांस्कृतिक पहिचान, आपसी प्रेम र एकताको प्रतीक भएकाले यसलाई संरक्षण र प्रवद्र्धन गर्न सबैको भूमिका आवश्यक रहेको बताउनु भयो । साथै संस्थाको सामाजिक कार्य निकै महत्त्वपूर्ण रहेको उहाँको भनाइ छ ।
अध्यक्ष भण्डारीले कार्यक्रम महिलाहरूलाई सशक्त बनाउन र संस्कार–संस्कृति जोगाउने उद्देश्यसहित आयोजना गरिएको बताउनु भयो । कार्यक्रमको सञ्चालन महिला कार्यसमितिका पुस्पा कुस्वारले गर्नुभएको थियो भने सम्पूर्ण व्यवस्थापन पनि महिला कार्यसमितीले गरेको हो।
कार्यक्रममा इटहरी वडा नम्बर २ का वडा अध्यक्ष माधव कोइराला , आदर्श टोल विकास संस्थाको अध्यक्ष नगेन्द्र प्रसाद रोइला, राधाकृष्ण भजन कृतन समूहका अध्यक्ष अर्जुन कोइराला, सत्संङ्ग भजन कृतन समुहकी अध्यक्ष निर्मला घिमिरे, मनकामना भजन कृतन समूहकि अध्यक्ष बिमला सुवेदी ,संगित प्रतिष्ठान टोल विकास संस्था महिला कार्यसमितिकि अध्यक्ष तथा दुर्गा देवि भजन कृतन समूहकि उपाध्यक्ष उर्मिला वाग्ले , संस्थाका पदाधिकारीहरू ,भजन–कीर्तन समूहका महिला, आमा, दिदी–बहिनीहरूको सक्रिय सहभागिता रहेको थियोे ।


