इटहरी । भोजपुरको रामप्रसादराई गाउँपालिका– ६ बैकुण्ठेका स्थानीय श्रमदानमार्फत धार्मिक पर्यटकीय क्षेत्र गङ्गा खोलाको संरक्षणमा जुटेका छन् । यस स्थानको संरक्षण तथा विकास गर्ने लक्ष्यले स्थानीयवासी श्रमदान अभियानमा जुटेका हुन् । वडा कार्यालयको पहलमा ‘गङ्गा खोला संरक्षण श्रमदान’ अभियानमार्फत गङ्गा खोला आसपासमा वृक्षरोण गर्ने, फूल रोप्ने, बाटो मर्मत गर्ने, झाडी हटाउने, मुहानको सरसफाइ गर्नेलगायतको काम भइरहेको वडाध्यक्ष एकराज आचार्यले बताउनुभयो । यो पर्यटकीय क्षेत्रको विकासमा स्थानीय एकजुट भएर लागेको उहाँको भनाइ छ । गङ्गा खोलाका सबै मुहान कहिले नसुक्ने, वर्षातको समयमा धमिलो नहुने तथा मुहान दक्षिणबाट उत्तर तर्फ बगेकाले यसको छुट्टै महत्व रहेको वडाध्यक्ष आचर्यले बताउनुभयो ।

यो क्षेत्रको विकासको लागि धेरै बजेट आवश्यक पर्ने भए पनि वडाले श्रमदानसँगै केही बजेट विनियोजन गरेर संरक्षणको काम गरिरहेको उहाँको भनाइ छ । गोल्मे–गङ्गा पर्यटन प्रवद्र्धन समितिको संयोजन र वडाको पहलमा श्रमदान अभियान सञ्चालन भइरहेको अध्यक्ष आचार्यले बताउनुभयो । गत वर्षबाट नै श्रमदानमार्फत यहाँ काम गर्दै आएको उहाँको भनाइ छ  । प्रत्येक हप्ताको शनिबारको दिन गङ्गा खोलामा श्रमदान हुँदै आएको छ । गङ्गा खोलाको समग्र विकास, पर्यटन प्रवद्र्धन र संरक्षणको लागि वडाको निर्णय अनुसार संरक्षण श्रमदान भइरहेको छ । वडाका स्थानीयबासी एकजुट भएर गङ्गा खोलाको संरक्षण गरिरहेको गोल्मे–गङ्गा पर्यटन प्रर्वद्धन समितिका अध्यक्ष राजेन्द्रकुमार राईले जानकारी दिनुभयो ।

ढुङ्गाको कापबाट उम्रिएका तीन वटा पानीको ठूला मुहान रहेको यो स्थानमा दर्शन गरे मनोकाङ्क्षा सिद्ध हुने धार्मिक विश्वासले भक्तजनहरु आउने अध्यक्ष राईले जानकारी दिनुभयो । अनौठो प्रकृतिको धार्मिक तथा पर्यटकीयस्थल रहेको भए पनि प्रचार अभावमा ओझेलमा परेको उहाँको भनाइ छ । स्थानीयस्तरबाट यहाँको संरक्षणको काम थालिएको उहाँले जानकारी दिनुभयो । यहाँको पानीले नुहाएमा  छालाको रोग निको हुने तथा कुनै पनि पुण्य कर्ममा चढाउने चलन रहेको उहाँले जानकारी दिनुभयो । यहाँ माघे सङ्क्रातिमा भव्य मेला लाग्ने गरेको छ ।