इटहरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ स्थित पूर्व पश्चिम राजमार्गमा सोमबार बस र विंगर एक आपसमा ठोक्किएर भएको दुर्घटनामा चारजनाको मृत्यु भएको छ । सो घटनामा घाइते भएकामध्ये १० जना सप्तरीकै छन् । काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र राजविराजबाट विराटनगरतर्फ जाँदै गरेको प्र २–०१–००१ ज ००४७ नम्बरको विंगर सोमबार बिहान सो ठाउँमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु भएकामध्ये एकजना सप्तरीको महादेवा गाउँपालिका ६ का ३५ वर्षीय शङ्कर मण्डलको मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ । यस्तै, दुर्घटनामा सुनसरीको कोशी गाउँपालिका–६ बस्ने ७० वर्षीय लक्ष्मण सदाको पनि मृत्यु भएको छ ।
एक जना अन्दाजी ४० वर्षीया महिला र एक पुरुषको सनाखत हुन सकेको छैन घाइतेमध्ये १० जना सप्तरीकै छन् । घाइतेहरूमा सप्तरीको महादेवा गाउँपालिका ६ बस्ने रवीन्द्रप्रसाद मण्डल, रविन्द्र मेहता, तिरहुत गाउँपालिका ३ गोइठीका ६८ वर्षीय जिवछ महात्मान छन् । यस्तै, राजविराज नगरपालिका ६ बस्ने १० वर्षीय रुद्र राय, राजविराज १२ बस्ने ४४ वर्षीय प्रमोद रजक, राजविराज (२ बस्ने २४ वर्षीय भोला यादव, ३५ वर्षीय प्रदीप यादव घाइते छन् । त्यस्तै विंगरका सह चालक राजविराज ४ बस्ने २१ वर्षीय सन्तोष बास्तोला, डाक्नेश्वरी नगरपालिका ३ बस्ने ३० वर्षीया अमृता राय र तिलाठी कोइलाडी गाउँपालिका ५ बस्ने २२ वर्षीय रवि राय पनि घाइते भएका छन् । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।


