इटहरी । राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेड कृषिबाट रुपान्तरणसहित ‘स्वाइल टु सक्सेस’ नाराका साथ अघि बढेको छ । १० महिना अघि मात्र खुलेको यो कम्पनीको तथ्यांक हेर्ने हो भने २ वर्षभित्र १० हजार जना नेपालीलाई कम्पनीमा जोड्ने लक्ष्यमा ३ हजार जना आबद्ध भइसकेका छन् । ३ वर्षभित्र १ अर्ब पुँजी पु¥याउने लक्ष्य राखिएकोमा ६५ करोड पुगिसकेको छ । प्रतिबद्धता ८० करोडका लागि आइसकेको छ । यसैगरी, कम्पनीले आगामी वर्ष आइपिओ जारी गर्ने लक्ष्यसहित ग्लोबल आइएमई क्यापिटलसँग सम्झौता गरिसकेको छ । स्थिर सम्पत्ति १२ करोडभन्दा माथि छ । कृषकलाई बर्सेनि मलखादको समस्या न्यूनीकरण गर्न सर्लाहीको लालबन्दीमा परियोजना निर्माण गर्न लागेको कम्पनी प्रमुख कार्यकारी अध्यक्ष विशाल हुमागाईलें बताउँनुभयो । यो परियोजनामा बर्सेनि ३० लाख किलो मल र ५ लाख किलो च्याउ उत्पादन लक्ष्य लिइएको उहाँले जानकारी दिनुभयो । परियोजनाका लागि लालबन्दी नगरले नक्सा स्वीकृति गरिसकेकोमा हालै टेण्डर पनि खोलिएको छ । भक्तपुरमा केन्द्रीय कार्यालय रहेको कम्पनीको जनकपुरमा प्रादेशिक, लालबन्दीमा परियोजना, वीरगञ्ज र हेटौंडामा सम्पर्क कार्यालय खुलिसकेका छन् । पोखरामा पनि प्रादेशिक कार्यालय छिट्टै खुल्ने कम्पनीले जनाएको छ । शनिबार पोखरामा प्रस्तावित लगानीकर्ताको भेला भएको थियो । सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अध्यक्ष विशाल हुमागाईंले नेपालमा कृषिको आवश्यकता र सम्भावना, कम्पनीको योजना तथा लक्ष्यबारे कार्यपत्र प्रस्तुत गर्नुभयो । कम्पनीका संस्थापक शेयरधनी युवा व्यवसायी दुर्गा हुमागाईंले विभिन्न क्षेत्रमा करिअर बनाइसकेका २६ जना युवाको सहभागितामा कम्पनी खुलेको बताउनुभयो ।


