इटहरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ३ जलुवाटोलस्थित फूल चौकमा भएको सडक दुर्घटनामा चार जनाको मृत्यु भएको छ । सोमबार बिहान पूर्व–पश्चिम लोकमार्गअन्तर्गत इनरुवा लौकही सडक खण्डमा काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे. १ ख. १७९९ नम्बरको बस र राजबिराजबाट विराटनगर जाँदै गरेको प्र. २–०१–००१ ज ००४७ नम्बरको माइक्रो एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाका अनुसार मृत्यु हुनेमा सप्तरी महदेवा गाउँपालिका–६ का अन्दाजी ३५ वर्षीय शंकर मण्डल, सुनसरी कोशी गाउँपालिका–६ का अन्दाजी ७० वर्षीय लक्ष्मण सदा, विराटनगरका अशोक यादव र अन्दाजी ४५ वर्षीया महिलको भने पहिचान खुलिसकेको छैन । दुर्घटनामा २७ जना घाइते भएका बताइएको छ भने मृतक सबै माइक्रोबसमा सवार थिए। केही घाइतेको जिल्ला अस्पताल सुनसरी र विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुने तीन पुरुष र एक महिला छन्, जसमध्ये ग्लोबल कार्डियो न्युरो अस्पताल भोक्राहामा तीन जना पुरुषको शव राखिएको छ भने जिल्ला अस्पतालमा एक महिलाको शव राखिएको छ । घाइतेहरुको ग्लोबल कार्डियो एण्ड न्यूरो अस्पताल भोक्राहा, जिल्ला अस्पताल इनरुवा, गोल्डेन अस्पताल विराटनगर र विराट नर्सिङ होममा उपचार भइरहेको छ । प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले दिनुभएको जानकारी अनुसार घाइते हुनेमा मोरङको सुन्दरहरैँचा–९ की अम्बिका राई , खोटाङ रावाबेँसी–२ की निरुता परियार, ३८ वर्षीय निर्मल परियार, सप्तरीको महदेवा–६ का रविन्द्रप्रसाद मण्डल, उदयपुरको चौदण्डिगढी नगरपालिका–५ का ५० वर्षीया रेनुका श्रेष्ठ रहनुभएको छ । त्यसैगरी, झापाको शिवसतासी नगरपालिका–५ का ३८ वर्षीय खगेन्द्र थापा, भद्रपुर नगरपालिका–९ का ५३ वर्षीय सन्तोष खत्री, उदयपुर बेलस्रोतका २० वर्षीय दीपक वि.क., इलाम चुलाचुली गाउँपालिका–३ का ३६ वर्षीय सविन राई, सप्तरीका रविन्द्र मेहता, गोइठी गापा–३ का ६८ वर्षीय जिवछ महात्मा, खोटाङ हलेसी तुवाचुङ नपा–१० का ८४ वर्षीय नेत्रलाल गिरी घाइते हुनुभएको छ । दुर्घटनामा नेत्रलाल गिरी र उहाँको छोरा केदार गिरी, झापा अर्जुनधारा नपा–१, साजनटारका २० वर्षीय सत्य राई, राजविराज–६ का रुद्र राय, मोरङको विराटनगर महानगरपालिका १० का ४८ वर्षीया शोभा यादव, राजविराज नपा–१२ का ४४ वर्षीय प्रमोद रजक, तिलाठी गापा.–५ का २२ वर्षीय रवि राय, राजविराज न.पा–२ का २४ वर्षीय भोला यादव, राजविराज तेतरी गाछीका ३५ वर्षीय प्रदीप यादव, सुनसरीको कोशी गा.पा–६ श्रीपुरका ६० वर्षीय जोगिन्द्र दास, डाक्नेश्वरी न.पा. ३ का ३० वर्षीय अमृता राय रहनुभएको छ । प्रहरीका अनुसार घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।