इटहरी | इटहरी लेडिज जेसीज, ओरेक नेपाल युवा केन्द्र र तरङ्गिनी फाउन्डेसन महिला संजालको संयुक्त आयोजनामा २५ औँ अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर ‘राजनीतिमा युवा महिला सहभागिता : अवसर र चुनौती’ विषयक प्यानल कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम इटहरी वडा नं. ८ स्थित युवा विकास केन्द्रको सभाहलमा इटहरी लेडिज जेसीजकी अध्यक्ष लक्ष्मी बरालको अध्यक्षता र कोशी प्रदेश सभा सदस्य मिना श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भयो। संयोजक ममता पराजुली रहनुभएको उक्त कार्यक्रममा दिगो विकास लक्ष्य र स्थानीय युवाको सक्रिय सहभागिताबारे विशेष छलफल गरिएको थियो।

प्यानलमा कवि, राजनीतिकर्मी तथा प्राज्ञिक व्यक्तित्व मनु मञ्जिल, इटहरी लेडिज जेसीजकी पूर्व अध्यक्ष तथा प्राध्यापक भेषजा काफ्ले, विद्यार्थी नेता तथा जिल्ला समन्वय समिति सदस्य (भोजपुर) चन्द्र किराँती, सुकुना बहुमुखी क्याम्पसका स्ववियु कोषाध्यक्ष सबिना थापा र अधिवक्ता तथा ओरेक नेपाल कोशी प्रदेश संयोजक  शोभा बजगाईले आ–आफ्ना धारणा राखेका थिए। कार्यक्रमको सहजकर्ता रुमा रिजाल रहनुभएको थियो।

अध्यक्ष बरालले पछिल्लो समयमा राजनीतिमा युवाको आवश्यकता बढ्दै गएको र उनीहरूलाई अवसर प्रदान गर्नु आवश्यक भएको बताउनुभयो। प्रमुख अतिथि सांसद श्रेष्ठले सक्षम र प्रतिबद्ध युवाको सक्रिय सहभागिताले मात्र देशको राजनीतिको रुपान्तरण सम्भव हुने धारणा व्यक्त गर्नुभयो।1754990858072

कार्यक्रममा माया घर इटहरीकी अध्यक्ष शुभद्रा प्याकुरेल, महिला सञ्चाल इटहरीकी अध्यक्ष योशा बजगाईसहित स्थानीय युवाहरू, विद्यार्थी र महिला संजालका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति थियो।

1754990860507