इटहरी । भोजपुरको अरुण गाउँपालिकामा सोमबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका केन्द्र प्याउलीमा आयोजित कार्यक्रममा आर्थिक वर्ष २०८१ र ८२ को प्रगति विवरण तथा चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा सञ्चालन गरिने योजना र कार्यक्रमबारे जानकारी दिएको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जितमान जिमीले गाउँपालिकामा हालसम्म सञ्चालन भएका योजना, नीतिगत निर्णय तथा उपलब्ध प्रगतिबारे जानकारी गराउँदै सार्वजनिक सुनुवाईको औचित्य स्पष्ट पार्नुभयो। लेखापाल सिताराम आचार्यका अनुसार, आर्थिक वर्ष २०८१ र ८२ मा कुल विनियोजित बजेटको ८४ दशमलव ९५ प्रतिशत रकम पूँजीगत र चालु क्षेत्रका गतिविधिमा खर्च भएको छ । उपाध्यक्ष विनिता ढकालले सार्वजनिक सुनुवाई मार्फत गाउँपालिकाका कार्यक्रम र योजनाबारे पारदर्शी जानकारी प्रदान गरिएको बताउनुभयो। स्थानीय बासिन्दाले राखेका सवालहरूको जवाफ गाउँपालिका अध्यक्ष सालिकराम खत्री, उपाध्यक्ष ढकाल, प्रमुख प्रशासकीय अधिकृत जिमी, वडाध्यक्षहरू तथा शाखा प्रमुखहरूले दिनुभएको थियो । अध्यक्ष खत्रीले योजनाबद्ध रूपमा विकासका काम गरिरहेको उल्लेख गर्दै स्थानीय सुझाव र गुनासोलाई नीतिगत तथा कार्यगत सुधारमा समावेश गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा पूर्व अध्यक्ष गजेन्द्र बहादुर कार्की, स्थानीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूले गाउँपालिकाको योजना र कार्यक्रमलाई अझ प्रभावकारी बनाउन सुझाव दिएका थिए ।