इटहरी । रामधुनी नगरपालिकाका विद्यालयबाट यस वर्ष कक्षा १२ उत्र्तिण गरेका विद्यार्थीलाई भादगाउँ सिनुवारी (भासी) बहुमुखी क्याम्पसले स्नातक तहको अध्ययन क्याम्पसबाटै सुरु गर्न आग्रह गरेको छ । रामधुनी नगरभित्र स्नातक तहसम्मको अध्ययन हुने एक मात्र भासी क्याम्पसले मंगलबार आयोजना गरेको शुभकामना तथा सम्मान कार्यक्रममा यस्तो सन्देश दिएको हो । कार्यक्रममा सहभागी विद्यार्थीलाई खादा, माला र अविरले सम्मान गर्दै सफल शैक्षिक यात्राको शुभकामना दिइएको छ । विगतमा आफ्नै भवन नहुँदा स्कुलको भवनमा कक्षा सञ्चालन गर्दै आएको भासी क्याम्पसले यहि साउन १ गतेदेखि आफ्नै भवनबाट पढाइ सुरु गरेको हो । वडा नं. ३ मा करिब १० कट्टा क्षेत्रफलमा बनेको क्याम्पसमा दुई वटा भवनमा १७ वटा कक्षाकोठा, व्यवस्थित पुस्तकालय, शौचालय र खेलमैदान उपलब्ध रहेको क्याम्पस प्रमुख श्याम कुमार चौधरीले बताउनुभयो । नगर उपप्रमुख तारा थापाका अनुसार क्याम्पसको भौतिक संरचना निर्माण देखि शैक्षिक व्यवस्थापन सम्म नगरपालिकाले निरन्तर सहयोग गर्दै आएको छ । प्रत्येक बर्ष क्याम्पसलाई ५० लाख बजेट विनियोजन गर्दै आएको नगरपालिकाले चालु आर्थिक वर्ष क्याम्पसमा बस खरिदका लागि समेत बजेट विनियोजन गरेको छ । उपप्रमुख थापाले व्यवस्थान र शिक्षाशास्त्र संकाय भासीमै उपलब्ध भएकाले बाहिरका क्याम्पस धाउनुपर्ने आवश्यकता नरहेको उल्लेख गर्दै, भासी क्याम्पसलाई नै ‘रोजाइको क्याम्पस’ बनाउन विद्यार्थीसँग आग्रह गर्नुभयो । कार्यक्रममा नगर उपप्रमुख तारा थापा, क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष नारायण प्रसाद काफ्ले, नगरका विभिन्न विद्यालयका प्रधानाध्यापक लगायतको उपस्थिति थियो ।


