इटहरी | २५ औँ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा इटहरी जेसिजले इटहरीस्थित ब्रह्माकुमारी राजयोग सेवा केन्द्रमा ‘Transforming Youth: Emotion to Creation’ नामक विशेष प्रशिक्षण कार्यक्रम गरेको छ ।
रोट्रयाक्ट क्लब अफ इटहरी र रोटरी क्लब अफ इटहरीको सह–आयोजनामा सम्पन्न कार्यक्रममा वरिष्ठ प्रशिक्षक तथा उत्प्रेरक वक्ता हरि सिटौलाले प्रशिक्षण दिनुभयो। उहाँले धार्मिक ज्ञानसँगै युवाहरूको मानसिक सुदृढता, भावनात्मक सन्तुलन, सकारात्मक सोच र सिर्जनशीलतालाई प्रोत्साहन गर्ने उपायहरूबारे विस्तृत रुपमा प्रशिक्षण दिनुभयो। युवाहरूलाई जीवनका चुनौतीहरूलाई अवसरमा रूपान्तरण गर्न सक्ने क्षमता विकासमा यस्ता कार्यक्रम अत्यन्त उपयोगी हुने उहाँको भनाइ थियो।
कार्यक्रम संयोजक अनुप्रस बिष्टका अनुसार, यस प्रशिक्षणको मुख्य उद्देश्य स्थानीय स्तरमा युवाहरूको सक्रिय सहभागिता र नेतृत्व क्षमतालाई अभिवृद्धि गर्नु, साथै विश्वव्यापी दिगो विकासका लक्ष्यहरूलाई (SDGs) स्थानीय आवश्यकतासँग जोड्नु हो।
युवाहरूको सिर्जनात्मक सोच र ऊर्जा समाजको समग्र विकासमा महत्वपूर्ण आधार बन्ने विश्वासका साथ कार्यक्रम आयोजना गरिएको Rotract Club of Itahari का अध्यक्ष सितल धितालले बताउनुभयो ।
इटहरी जेसिजका अध्यक्ष देबेन्द्र कार्कीले युवाहरूमा रहेको भावना, सोच र क्षमता यदि सही दिशामा परिचालन गर्न सकियो भने, समाज र राष्ट्रको विकासको लागि ठूलो योगदान पुग्ने बताए। उहाँका अनुसार, इटहरी जेसिजले निरन्तर रुपमा नेतृत्व विकास, सीप अभिवृद्धि र सामाजिक चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ र भविष्यमा पनि यस प्रकारका अवसरहरूलाई प्राथमिकतामा राख्नेछ।
कार्यक्रममा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, इटहरीकी प्रमुख संचालिका ब्रह्माकुमारी शारदा दिदी, सामुदायिक क्षेत्रका उपाध्यक्ष विशाल गुरागाई, सामुदायिक क्षेत्रका का.का. उपाध्यक्ष याम कुमार दाहाल, सामुदायिक क्षेत्रका निवर्तमान अध्यक्ष रुद्र प्रसाद सुबेदी (सुमन), ब्रह्माकुमारी Youth Wings की सह–संयोजक बिन्दा दिदी, , Rotract Club of Sunsari की अध्यक्ष श्रीचा पराजुली, रोटरी वर्ष २०२४–२५ का पूर्व अध्यक्ष देभराज काफ्ले लगायत संस्थाका पदाधिकारी, शैक्षिक क्षेत्रका प्रतिनिधि र सामाजिक अभियन्ताहरूको उपस्थिति थियो।
साथै, उपस्थित अतिथिहरूले युवाहरूलाई सिर्जनात्मक, अनुशासित र जिम्मेवार बनाउने खालका कार्यक्रमहरूलाई निरन्तरता दिनु आवश्यक रहेको धारणा राखेका थिए।


