इटहरी । इटहरीका पूर्व नगर प्रमुख द्वारिकलाल चौधरीले इटहरी उपमहानगरको दीर्घकालीन विकास, जनसरोकारका योजना र तीनै तहका सरकारको जिम्मेवारीबारे गम्भीर प्रश्न उठाउनु भएको छ । संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था कार्यान्वयनको सुरुवातसँगै करिब आठ वर्ष बितिसक्दा पनि संविधानको मर्मअनुसारको सहकार्य, सहअस्तित्व र समन्वयको भावना व्यवहारमा देखिन नसकेको उहाँले आरोप लगाउनुभयो । बुधबार आयोजित पत्रकार सम्मेलनमा चौधरीले उपस्थित सञ्चारकर्मी, जनप्रतिनिधि, राजनीतिक दलका नेता, नागरिक समाजका अगुवा तथा सहयोद्धाहरूप्रति आभार व्यक्त गर्दै, इटहरीका सरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले आफू बोल्न बाध्य भएको बताउनु भयो । उहाँले इटहरीलाई कोशी प्रदेशको राजधानी बनाउन लामो समयदेखि चलाइएको प्रयास असफल भएकोप्रति दुःख व्यक्त गर्दै, यो शहरले पाउनुपर्ने अवसर गुमाएको बताउनुभयो । इटहरीको वृहत्तर विकास र बाढी नियन्त्रणका लागि ४२ किलोमिटर लामो बाहिरी चक्रपथ योजना तत्कालीन प्रदेश सरकारको नीतिगत कार्यक्रममा समावेश भए पनि कार्यान्वयनमा नआएको भन्दै चौधरीले यसमा हालका तीनै तहका सरकार उदासिन देखिएको टिप्पणी गर्नु भयो । त्यस्तै, टेङ्रा डाइभरसनको काम अघि नबढ्नु, जनता पार्क, बहुजातीय संग्रहालय, मोटरेबल पुल र दर्जनौं कालोपत्रे सडकजस्ता गौरवका योजनाहरू अलपत्र पर्नुमा पनि उहाँले चासो व्यक्त गर्नुभयो । चौधरीले शान्ति सुरक्षा र स्वास्थ्य पूर्वाधार दुवैमा कमी रहेको उल्लेख गर्दै, इलाका प्रहरी कार्यालय इटहरी दुई कठ्ठा जमिनमा सीमित भएर सेवा दिइरहेको र २५ शैयाको इटहरी अस्पताललाई १०० शैयामा स्तरोन्नति गर्ने योजना निष्क्रिय बनेको बताउनुभयो । सार्वजनिक सम्पत्ति संरक्षणमा स्थानीय सरकार असफल भएको दाबी गर्दै चौधरीले वर्षौ देखि अनधिकृत रूपमा कब्जा गरिएका जग्गा फिर्ता नआएको, अदालतको आदेशपश्चात पनि २ विघा जग्गा विद्यालयको नाममा दर्ता नगर्ने निर्णय कार्यान्वयन नभएको उदाहरण प्रस्तुत गर्नुभयो । चौधरीले उपमहानगरपालिकालाई राजनीतिक दलका कार्यकर्ता भर्ना केन्द्रका रूपमा प्रयोग गरिएको, आर्थिक अनियमितता र चुहावट बढेको र समयमा बजेट ल्याउन नसकेर ‘बजेट होलिडे’मा रमाएको आरोप लगाउदै इटहरीको सबै विकृति र विसंगति अन्त्यका लागि तीनै तहका सरकारलाई आवश्यक कदम चाल्न आग्रह गर्दै, सम्पूर्ण सचेत नागरिकलाई खबरदारी र दबाब सिर्जना गर्न आह्वान गर्नुभएको छ ।


