इटहरी । इस्कोन इटहरीले साउन २९ ,३० र ३१ गते कृष्ण जन्माष्टमी मनाउने भएको छ । इस्कोनको भवनमा पत्रकार सम्मेलन आयोजना गरि विगत वर्षमा झै यस बर्ष पनि श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन ईटहरी द्धारा यहि भाद्र २९ र ३० गते चित्रकला ,ग्रन्थ प्रदर्शनी र वक्तित्व कला हुने र साउन ३१ गते श्रीकृष्ण जन्माष्टमी महा महोत्सवको आयोजना गरिने तयारी पूरा भएको छ । १५ हजार भक्तजनको उपस्थीतीमा श्रीकृष्ण जन्माष्टमी महोत्सव कार्यक्रमको कृष्ण कथा, किर्तन, आरती, दिप अर्पन, भगवान् स्नान कार्यक्रम हुने भएको हो । साथै इटहरीका विभिन्न कलेज तथा विद्यालयका लगभग ३ हजार विद्यार्थी, शिक्षक तथा अभिभावकहरुको उपस्थीतीमा ग्रन्थ तथा चित्रकला प्रदर्शनी कार्यक्रम हुने भएको हो । वैदिक संस्कृति संरचना संरक्षण गर्न कार्यक्रम आयोजना गरिएको इस्कोन इटहरीका अध्यक्ष ललित माधव दासले बताउनु भयो ।  कार्यक्रम अवधि हरिनाम संकीर्तन , प्रवचन, नाट्य प्रस्तुति र प्रसाद ग्रहण गरिने भएको उहाँको भनाइ छ । अहिले प्रचार प्रसार भइरहेको उहाँले बताउनुभयो । विगत ७ बर्षदेखि इस्कोन ईटहरी प्रचार केन्द्रबाट वैदिक सनातन धर्मको प्रमुख ग्रन्थ श्रीमद्भगवद्गीता र श्रीमद्भागवत्को प्रचार–प्रसार ग्रन्थको वितरण, गृहस्थहरुका लागि आध्यात्मिक जीवनको प्रशिक्षण, गाउँघरमा तथा शहर बजार, स्कुल कलेजमा विद्यार्थीहरुलाई आध्यात्मिक प्रगतिका लागि भगवद्गीताको व्यवस्थित रुपमा शिक्षा प्रदान गरिँदै आएको छ ।