इटहरी । राइट हेयर राइट नाउका फोकल पर्शन पिटर राईले लिङ्ग र लैङ्गिकताको परिभाषालाई पुरातनवादी मूल्य मान्यताका आधारमा परिभाषित गर्न नहुने बताउनुभएको छ । गत फेब्रुअरीमा काठमाडौँमा सम्पन्न भएको इल्गा एशिया सम्मेलनको साझा दृष्टिकोण र प्रतिबद्धताबारे जानकारी गराउदै स्थानीयस्तरमा कार्यान्वयनका लागि मानव कल्याण समाज इटहरीको समन्वयमा निल हिरा समाजले इटहरीमा आयोजना गरेको कार्यक्रममा राईले पुराना परिभाषाले सबैलाई समेट्न नसक्ने बताउनुभयो । राईले सम्मेलनको वक्तव्य प्रस्तुत गर्नेक्रमा महिला पुरूष बाहेक अन्य जैविक लिङ्ग, लैङ्गिकता र यौनिकता भएको व्यक्तिलाई समेत समावेश गरिएको परिभाषा निर्माण गर्न आवश्यक रहेको बताउदै भु्रण अवस्था देखि नै सुरू हुने विभेदको अन्त्य हुनुपर्ने बताउनुभयो । कार्यक्रममा सम्मेलनले सबै पहिचान, लिङ्ग र यौनिकताको सम्मान गर्दै विविधता र समावेशीतालाई प्राथमिकता दिने घोषणा गरेको जानकारी गराइएको छ । त्यस्तै, क्वायर युवाहरूलाई नेतृत्वमा अगाडि ल्याउने, विवाह समानता र लिङ्ग पहिचान जस्ता कानूनी–नीतिगत उपलब्धिहरूलाई संरक्षण र विस्तार गर्ने लगायत रहेको राईले बताउनुभयो । कार्यक्रममा इटहरी उपमहानगर उपप्रमुख संगिता चौधरीले लिङ्ग, लैङ्गिकता र यौनिकताका आधारमा अपमान र विभेद गर्न नपाईने र विभेद गरे कानुनी कारबाही हुने बताउनुभयो । उपप्रमुख चौधरीले क्वायर समुदायको लागि इटहरी सरकार र आफू सकारात्मक रहेको बताउदै बजेट विनियोजनसँगै आवश्यक भूमिका खेल्ने उहाँले बताउनुभयो । त्यस्तै, गढी गाउँपालिका उपाध्यक्ष अनिता कुमारी शाहले भनाइमा मात्रै समाजमा परिवर्तन आएको बताउदै विभेद शिक्षित भनिएका परिवारमै देखिने गरको बताउनुभयो । कार्यक्रममा निल हिरा समाज कोशी प्रदेश अध्यक्ष मुस्कान श्रेष्ठले सरकारी कोटामा विभेद रहेको बताउदै क्वायर समुदायलाई पनि समावेश गराउन सरकारलाई आग्रह गर्नुभयो । त्यस्तै मानव कल्याण समाज इटहरीका कार्यक्रम संयोजक देवनारायण चौधरीले दातृ निकायको सहयोग कटौती गरिदा क्वायर समुदाय र एचआईभी संक्रमितलाई संस्थाबाट दिइने स्वास्थ्य सेवामा समस्या भएको बताउनुभयो ।


