इटहरी । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट हालै पारित भएको प्रस्तावित शिक्षा विधेयकका केही प्रावधानहरू निजी विद्यालयहरूको हितविपरीत रहेको भन्दै संस्थागत विद्यालयहरूको छाता संगठन प्याब्सन गढी नगर समितिले गढी गाउँपालिकामा प्रेस विज्ञप्ति हस्तान्तरण गरेको छ। प्याब्सन केन्द्रीय कार्य समितिले प्रस्तावित शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै २०८२ साल साउन २८ गतेदेखि सुरु हुने गरी देशव्यापी आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो। सो कार्यक्रमअन्तर्गत देशभरका नगर तथा गाउँपालिकामा एकैसाथ ज्ञापन पत्र बुझाउने निर्णयअनुसार गढी नगर समितिले पनि आज गढी गाउँपालिका कार्यालयमा औपचारिकरूपमा विज्ञप्ति हस्तान्तरण गरेको हो। गढी गाउँपालिकाभित्र रहेका सम्पूर्ण संस्थागत विद्यालयका संस्थापक, प्रिन्सिपल तथा प्रतिनिधिहरूको उपस्थितिमा सुनसरी जिल्लाको औरावनीस्थित गढी गाउँपालिका कार्यालयमा आयोजित कार्यक्रममा गढी गाउँपालिका अध्यक्ष आश नारायण चौधरीलाई विज्ञप्ति हस्तान्तरण गरिएको थियो। कार्यक्रममा प्याब्सन गढी नगर अध्यक्ष राजाराम कु. मेहता, जिल्ला सचिवालय सदस्य भुप नारायण भगत, प्याब्सन गढीका सचिव अमरलाल उराँवलगायत स्थानीय पब्सनिस्टहरूको उल्लेख्य सहभागिता थियो। सचिव उराँवका अनुसार प्रस्तावित शिक्षा विधेयकका कतिपय प्रावधानहरूले निजी विद्यालयको स्वतन्त्रता, सञ्चालन पद्धति र लगानीको संरक्षणमा प्रतिकूल असर पार्ने भएकाले तत्काल संशोधन आवश्यक रहेको प्याब्सनको माग छ। उक्त कार्यक्रममा सहभागीहरूले निजी विद्यालयको भूमिका, योगदान र आगामी दिनमा उत्पन्न हुन सक्ने चुनौतीका विषयमा समेत धारणा राखेका थिए।


