इटहरी । भोजपुरमा घरेलु उद्योग दर्ताको सङ्ख्या घट्दै गएको छ । घरेलु उद्योग कार्यालयका अनुसार बर्सेनि क्रमिक रूपमा घरेलु तथा साना उद्योग दर्ता घटेको हो । आर्थिक वर्ष २०७७र०७८ मा पाँच सय ९१ वटा उद्योग दर्ता भएकामा गत आवको असार मसान्तसम्म एक सय १० वटा मात्र दर्ता भएको कार्यालयले जनाएको छ । उद्योग दर्ता बर्सेनि घट्दो र खारेजीको सङ्ख्या बढ्दो क्रममा रहेको कार्यालयको भनाइ छ । कार्यालयको तथ्याङ्कानुसार आव २०७७र०७८ मा पाँच सय ९१, आव २०७८र०७९ मा चार सय चार, आव २०७९र०८० मा दुई सय ६४, आव २०८०र०८१ मा एक सय ३३ र आव २०८१र०८२ मा एक सय १० वटा उद्योग दर्ता भएका छन् । पछिल्ला वर्षहरूमा उद्योग खारेजीको सङ्ख्या पनि बढेको छ ।

गत आवमा मात्र ८९ वटा उद्योग र २३ वटा वाणिज्य फर्म गरी एक सय १२ वटा खारेजी भएको घरेलु तथा साना उद्योग कार्यालयका निमित्त प्रमुख रमेश ढकालले जानकारी दिए । भोजपुरमा उद्योगतर्फ तीन हजार ६६३ र वाणिज्यतर्फ एक हजार ८३ गरी जम्मा चार हजार ७४६ उद्योग तथा फर्म दर्ता रहेको उनको भनाइ छ । तीमध्ये करिब ५० प्रतिशत हारहारीमा निष्क्रिय अवस्थामा रहेको कार्यालयले जनाएको छ । कार्यालयले उद्योगको प्रवर्द्धन तथा विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको भए पनि दर्ताको सङ्ख्या भने बर्सेनि घट्दो क्रममा रहेको जानकारी दिइएको छ ।

गत आवमा कार्यालयले उद्यमीको प्रोत्साहनका लागि मागका आधारमा ९१ वटा उपयुक्त प्रविधि हस्तान्तरण गरेको जनाएको छ । कार्यालयले लघु, घरेलु तथा साना उद्योगको माध्यमबाट स्थानीय कच्चा पदार्थ, स्रोत र श्रमको उपयोग जोड दिएको जनाएको छ । स्थानीयस्तरमा उद्योग स्थापना गर्न, स्वरोजगार बन्न तथा रोजगारीका अवसर सृजना गर्न प्रयासरत रहेको कार्यालयको भनाइ छ ।