इटहरी । वराहक्षेत्र–९ को पूर्वी तटबन्धको २६ः८८ स्परमा नदीको चाप पर्दै आएको छ । साउनको अन्तिम सातामा पहाडी इलाकामा वर्षा हुन थालेपछि नदीको एउटा भँगालोमा पानीको चाप २६ः८८ स्परमा पर्न थालेको हो । हरेक वर्षामा आउने बाढीको भेलसँगै सप्तकोशी नदीले आफ्नो बाटो परिवर्तन गर्दै आएको छ । सुनसरीको चतराबाट समथर क्षेत्रमा फैलिएर बग्ने सप्तकोशी नदीको एउटा भँगालो राजाबासस्थित एक स्परमा ठोकिन थालेको स्थानीय खेम राईले बताउनुभयो । बालुवा, ढुङ्गा, माटो, जालीले बनाइएको स्परमा पानीको चाप पर्दा स्थानीयमा त्रास छाएको छ । डेढ दशकअगाडि तत्कालीन पश्चिम कुशाह–४ बाट १२ः१० र १२ः१८ स्पर कटान गरेर नदी गाउँ पसेको थियो ।
स्परमा पानीको चाप बढ्दै गए स्पर कटान हुन सक्ने राई बताउनुहुन्छ । वर्षाका कारण पानीको चाप २६ः८८ स्परको पश्चिमपट्टिको भागमा परेको हुँदा बाढीमा जमेको माटो मङ्गलबार राति कटान भएपछि राती नै रोकथामको काम गरिएको कोशी प्रोजेक्ट अन्तर्गत राजाबास सबडिभिजनका एसडिओ सञ्जयकुमार वर्माले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले त्यस्तो कुनै खतरा नरहेको जनाउनुभयो । कोशीमा हरेक वर्ष बगेर आउने ढुङ्गा, माटो, ग्रेगरले नदीको सतह उच्च हुँदै जाँदा सानो बाढी आउँदा पनि नदीले रौद्र रूप देखाउने गरेको छ । किनार क्षेत्रमा पानीको चाप पर्ने ठाउँको पहिचान गरेर कोशी प्रोजेक्टले रोकथामको काम गर्दै आए पनि यसको दीर्घकालीन काम हुनुपर्ने स्थानीयको भनाइ छ ।
सप्तकोशीको बढी प्रभावित क्षेत्र सुनसरीको वराहक्षेत्र नगरपालिका, कोशी गाउँपालिका, उदयपुरको बेलका नगरपालिका, सप्तरीको कङ्कालिनी हनुमान नगरपालिका, कोलारी तिलाठी र छिन्नमस्ता नगरपालिकाको कोशी किनार क्षेत्रमा पर्ने दर्जनौँ बस्ती जोखिममा पर्दै आएका छन् । प्रत्येक वर्ष भारतीय कोशी प्रोजेक्टले कोशी किनार क्षेत्रमा काम गर्दै आएको छ । कोशी प्रोजेक्ट अन्तर्गत भारतको जल संसाधन पटना र वीरपुरले कोशीको तटबन्ध र स्परको मर्मतसम्भार गर्दै आए पनि वर्षामा सप्तकोशी नदीमा आउने बाढी स्थानीयको त्रासदी बनेको स्थानीय देवीबहादुर कटुवाल बताउनुहुन्छ ।
कोशी प्रोजेक्ट अन्तर्गत कुशाह सबडिभिजन, चव्रmघट्टी सबडिभिजन, राजाबास सबडिभिजन, मधुवन सबडिभिजनले कोशी ब्यारेजदेखि चतरासम्म इन्जिनियरसहितको प्राविधिक टोलीको निगरानीमा तटबन्धको सुरक्षार्थ काम गर्दै आएको बताइएको छ ।


