इटहरी  । मोरङको सुन्दरहरैँचा गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयमा यसै वर्षदेखि एमबिबिएस पढाइ सुरु हुने भएको छ । मेडिकल कलेज सञ्चालन हुने भएपछि स्थानीय खुसी भएका छन् । खास गरी कलेज सञ्चालन भएपछि व्यापार व्यवसायको नयाँ सम्भावना खुल्छन् भनेर पहाडबाट बसाइँ सरी आएका विश्वविद्यालयवरिपरिका सर्वसाधारण खुसी भएका हुन् । विश्वविद्यालयले दुई वर्षदेखि पूर्णकालीन स्वास्थ्य सेवा सञ्चालन  गर्दै आएको छ । पूूर्वाञ्चल विश्वविद्यालयका चिकित्साशास्त्र सङ्कायका डिन शैलेशमणि पोख्रेलले ५० वटा कोटामध्ये ७५ प्रतिशत पूूर्ण सरकारी छात्रवृत्तिमा अध्यापन गराइने जानकारी दिनुुभयो । सरकारले नै कोटाको ७५ प्रतिशत छात्रवृत्तिका लागि स्रोत सुनिश्चित गरेको छ । बाँकी २५ प्रतिशत विद्यार्थीले पैसा तिरेर पढ्ने छन् । विश्वविद्यालयले चिकित्साशास्त्र अन्तर्गत एमबिबिएस पढाउन सम्पूर्ण पूूर्वाधार तयार गरिसकेको छ । विश्वविद्यालयले आफ्नै स्रोतले आन्तरिक व्यवस्थापन गरिरहेको डिन पोख्रेलले बताउनुभयो । उहाँका अनुसार हाल विश्वविद्यालयमा चिकित्साशास्त्र अन्तर्गत फार्मेसी, पब्लिक हेल्थ मास्टर्स र बिएस, बिएन, बिपिएच, बी फार्मेसी र बिएमएलटी अध्ययन भइरहेको छ ।  विश्वविद्यालयले शिक्षण अस्पताल सञ्चालनको प्रमुुख पूर्वाधार मानिने तीन सय शøयाको अस्पताल सुरु गरिसकेको छ । विद्यार्थीले दुई वर्ष नियमित अध्ययन गरेपछि तेस्रो वर्षदेखि विश्वविद्यालयको आफ्नै शिक्षण अस्पतालमा प्रयोगात्मक अध्ययन गर्नुपर्ने व्यवस्था रहेको छ ।  ८०५ बिघामा बनेका विश्वविद्यालयका भवन अव पूर्ण रूपमा सञ्चालनमा आउनेमा स्थानीय आशावादी छन् । पूर्वाञ्चल विश्वविद्यालयले २०६१ सालमा ३० करोड रुपियाँँ लगानी गरी  निर्माण गरेका भवन २१ वर्षपछि पूर्ण रूपमा प्रयोगमा आउने स्थानीयको भनाइ छ । गोेठगाउँमा प्रशासनिक भवन, अस्पताल भवन, अस्पतालको आकस्मिक कक्ष, ओपिडी भवन, कलेज, दुई वटा छात्रावास, शिक्षक आवास भवन, एउटा अतिथि गृहलगायतका भवन भरिभराउ हुने अपेक्षा गरिएको छ । जग्गा व्यापारीले विश्वविद्यालय आउने सपना देखाएर वरिपरिको सयौँ बिघा जमिन कित्ताकाट गर्दै बिव्रmी गरेका थिए  । विश्वविद्यालय वरपर जग्गा किन्नेले ठुलो रकम खर्चेर घर बनाए तर उनीहरूले अस्पताल र मेडिकल कलेज आउँछ भनेर माया मारिसकेका थिए । दुई वर्षअघि विश्वविद्यालयले पूर्णकालीन स्वास्थ्य सेवा सुरु गर्दा थोरै खुसी भएका स्थानीय अहिले एमबिबिएस पढाइ हुने सूचना पाएपछि अझ हर्षित भएका छन् । स्थापनाकालमा विश्वविद्यालयको पूर्वाधार निर्माण भएको थिएन । त्यसैले मुख्य कार्यालय विराटनगरमा बस्यो । विराटनगरमा बसेको मुख्य कार्यालय गोठगाउँमा ल्याउन १४ वर्ष लाग्यो । मोरङ–३ का प्रतिनिधिसभा सदस्य डाक्टर सुनील शर्माले आफ्नो चुनावी एजेन्डा पूरा भएको बताउनुभयो । चुनाव जितेको अढाई वर्षमा आफूले गरेका प्रतिबद्धता पूरा गर्दै गएको डाक्टर शर्माले बताउनुभयो । पूर्वाञ्चल विश्वविद्यालय सुन्दरहरैँचा नगरपालिकाको वडा नंं। ७ र ८ मा पर्छ । ७ नम्बर वडा मोरङको निर्वाचन क्षेत्र नंं। ६ का सांसद डाक्टर शेखर कोइरालाको क्षेत्रमा पर्छ भने वडा नंं। ८ मोरङ–३ मा पर्छ ।  डा। शेखर र सुनील शर्माको संयुक्त प्रयासबाट विश्वविद्यालयमा एमबिबिएस पढाइ सुरु हुने वातावरण तय भएको स्थानीय खेमचन्द्र अधिकारीको भनाइ छ ।