इटहरी । इटहरी वडा नं. १ मा सञ्चालित राष्ट्रिय माध्यमिक विद्यालयले शुक्रबार शिक्षक अभिभावक संघ र आमा समूहमा निर्वाचित पदाधिकारीलाई स्वागत तथा सम्मान गरेको छ । शिक्षक अभिभावक संघमा सानुराम गौतमको नेतृत्वमा रहेको ११ सदस्यीय समिति र आमा समूहमा मुक्तामणि डागी नेतृत्वको समूहलाई स्वागत तथा सम्मान गरिएको हो । दुवै समूहका पदाधिकारीहरुलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कोविदजंग कार्की, र प्रधानाध्यापक सरनकुमार बस्नेतले स्वागत तथा सम्मान गर्नुभएको हो । दुवै समिति दुई वर्षे कार्यकालको लागि चयन भएका हुन् । यस्तै,  दुई वर्षे कार्य काल सफलतापूर्वक सम्पन्न गरेको आमा समूह र शिक्षक अभिभावक संघको निवर्तमान समितिका पदाधिकारीलाई पनि विदाई गरिएको थियोे । कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष कोविदजंग कार्कीले विद्यालयको शिक्षाको अभिवृद्दिका लागि समाजका सवै क्षेत्रका अगुवाको भूमिका हुने बताउनुभयो । कार्यक्रममा विद्यालयकी सहायक प्रधानाध्यापक यमूना बस्नेतले स्वागत मन्तब्य रराख्नुभएको थियो । सोही  कार्यक्रममा विद्यालयले आर्थिक वर्ष २०८२–८३ का लागि दुरदृष्टि सहित वार्षिक नीति तथा कार्यक्रम पनि सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०८२–८३ का विद्यालयका प्रधानाध्यापक सरनकुमार बस्नेतले आय तर्फ अनुमानित १३ करोड २ लाख २२ हजार २४७ रुपैयाँ र खर्चतर्फ १२ करोड ८७ लाख ५१ हजार ३ सय ८२ रुपैयाँ प्रस्तुत गर्नुभयो । राष्ट्रिय माध्यमिक विद्यालयले अघिल्लो वर्षदेखि वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आएको छ । विद्यालयले तय गरेको वार्षिक नीति तथा कार्यक्रममा भौतिक पूर्वाधार, मानव संसाधन, शैक्षिक गुणस्तर वृद्दि, सूचना प्रणाली लगायतका ६३ बुँदे कार्यक्रम वार्षिक नीति तथा कार्यक्रममा समेटिएको सहायक प्रधानाध्यापक लक्ष्मी सुवेदीले बताउनुभयो । विद्यालयमा बालविकास देखि कक्षा १२ सम्म पढाई हुने गरेको  छ । कार्यक्रममा वडा सदस्य हरीहर चौधरी ,बिद्यालयका शिक्षक तथा बिद्यार्थीहरुको उपस्थिती रहेको थियो ।