इटहरी । सामुदायिक वन उपभोक्ता समूह केवल वन संरक्षणमै सीमित नभई सामाजिक उत्तरदायित्व र मानवीय सेवामा पनि उदाहरणीय कार्य गर्दै आएको छ । यसको ताजा उदाहरण मोरङको पथरीशनिश्चरेस्थित महिला जागृति सामुदायिक वन उपभोक्ता समूहले प्रस्तुत गरेको हो । समूहले आफ्नो क्षेत्रमा रहेका विपन्न उपभोक्तालाई आवास निर्माण गरी हस्तान्तरण गरेको हो । पथरीशनिश्चरे–८, सोमबारे निवासी रेणुका माझीलाई नयाँ घर निर्माण गरेर शुक्रबार एक भव्य समारोहका बीच हस्तान्तरण गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि डिभिजन वन कार्यालय मोरङका प्रमुख उत्सव थापा, वन समूहका अध्यक्ष तुलसा याख्खा र अन्य अतिथिहरुले संयुक्त रुपमा घरको चावी हस्तान्तरण गर्नुभएको थियो । सोहि अवसरमा सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) मोरङका कार्यवाहक अध्यक्ष मदन पोख्रेलले समूहलाई शुभकामना व्यक्त गर्दै यो कार्यले सामुदायिक वनको प्रभावकारी उपस्थिति देखाएको बताउनुभयो । उहाँले महिला जागृति वन समूहका उपभोक्ता संख्याका तुलनामा वन क्षेत्र अत्यन्तै कम रहेकोले राष्ट्रिय वनबाट थप गर्न डिभिजन वन कार्यालयलाई आग्रह समेत गर्नुभएको थियो। कार्यक्रममा नगर महासंघ पथरीशनिश्चरेका सचिव हेमभक्त गुरुङ, गाउँ महासंघ कानेपोखरीका अध्यक्ष नविन राई, पथरी शनिश्चरे नगरपालिकाका युवा, खेलकुद तथा शिक्षा शाखाका सदस्य भद्रमान विश्वकर्मा लगायतले पनि सामुदायिक वनहरुले वृक्षारोपण, वन संरक्षण तथा अन्य सामाजिक उत्तरदायित्व वहन गर्दै आएको चर्चा गर्नुभएको थियो। वन समूहका अध्यक्ष तुलसा याखाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हालै अवकाश प्राप्त डिभिजन वन अधिकृत इन्द्रदेव राउत, सब–डिभिजन वन कार्यालय कानेपोखरीका प्रमुख प्रदिप कुँवर, वन कार्यालयका कर्मचारी, पत्रकार, सामाजिक संघसंस्थाका प्रतिनिधि, टोल प्रमुख, उपभोक्ताहरु लगायतको बाक्लो उपस्थिति रहेको थियो ।


