सुनसरी / गढी गाउँपालिकाका अध्यक्ष आश नारायण चौधरीले गढी गाउँपालिकाभित्र पारिवारिक निजी वनलाई प्रोत्साहन गर्ने उद्देश्यले सम्बन्धित ऐन र कार्यविधि तयार गरी छिट्टै लागू गर्ने बताउनुभएको छ।
हिउँदे अधिवेशनमार्फत गाउँसभामा सर्वसम्मत ढङ्गले पारिवारिक निजी वन सम्बन्धी ऐन तथा कार्यविधि पारित गर्ने तयारी गरिएको अध्यक्ष चौधरीले एक अन्तरक्रिया कार्यक्रमका क्रममा जानकारी दिनुभयो। पारिवारिक निजी वनले भविष्यमा गढी गाउँपालिकाको आन्तरिक श्रोत वृद्धि गर्नुका साथै वातावरणीय सन्तुलन कायम गर्न महत्वपूर्ण योगदान पुर्याउने उहाँको भनाइ थियो।
अध्यक्ष चौधरीका अनुसार गाउँपालिका भित्र रहेका खोला तटबन्ध, सार्वजनिक क्षेत्रहरु तथा किसानहरुमाझ छोटो समयमा राम्रो उत्पादन दिन सक्ने र उच्च बजार मूल्य प्राप्त हुने बोटविरुवा खेतीको लागि पारिवारिक निजी वन समिति गठन गरेर कार्यान्वयन अघि बढाइनेछ।
वडानं.२ र ५ का केही किसानहरुलाई प्रारम्भिक चरणम विरुवा वितरण गरिएको र आगामी दिनमा बाँकी वडाका किसानहरुलाई समेत विरुवा वितरण गरिने जानकारी उहाँले दिनुभयो।
पारिवारिक निजी वन सम्बन्धी अन्तरक्रिया कार्यक्रम गढी गाउँपालिकाको सभाहलमा गत श्रावण ३१ गते शनिबार सम्पन्न भएको थियो। कार्यक्रममा पारिवारिक निजी वन संघका केन्द्रिय अध्यक्ष योगराज गिरी, उपाध्यक्ष गोपाल भट्टराई, गढी गाउँपालिकाकी उपाध्यक्ष अनिता कुमारी शाह, वडा नं.२ का अध्यक्ष प्रभाकर माझी, वडा नं.१ का अध्यक्ष प्रदीप चौधरी, वडा नं.५ का अध्यक्ष चन्द्र कुमार सरदार, वडा नं.६ का तेतर शाहु लगायत स्थानीय कृषकहरुको उपस्थिति रहेको थियो।


