इटहरी । भोजपुरको षडानन्द नगरपालिका– १० साम्पाङका वडाध्यक्ष प्रेमदोर्ची शेर्पा व्यावसायिक जडीबुटी खेतीमा उदाहरणीय हुनुहुन्छ । उहाँले जनप्रतिनिधि भएर जनताको सेवासँगै जडीबुटीखेती गर्दै आउनु भएको छ । थोरै समय दिएर पनि जडीबुटीको बिक्रीबाट वार्षिक रु पाँचदेखि सात लाखसम्म आम्दानी गर्दै आएको शेर्पाले बताउनुभयो । आफ्नो बहुउद्देश्यीय जडीबुटी नर्सरी केन्द्रमा अहिले पनि ६० ड्याङमा विभिन्न जातका जडीबुटीको बिरुवा रहेको उहाँको भनाइ छ ।
आफ्नो घर भएको स्थान तीनतलेमा २२ वर्ष अघिबाट चिराईतो, सतुवा, लोठसल्ला, सेतक चिनी, सिमखुदोलगायतको खेती गरिरहेको वडाध्यक्ष शेर्पाले बताउनुभयो । जनताको सेवा पश्चात बचेको समयलाई जडीबुटी खेतीमा लगाउने गरेको उहाँको भनाइ छ । आर्थिक रुपमा सक्षम बन्नको लागि राजनीतिसँगै कृषि उद्यममा जोडिएको वडाध्यक्ष शेर्पाले बताउनुभयो । फर्मबाट सतुवाको बिरुवा, चिराइतोको बोट बीउ, पात, ढुट्टोलगायत बिक्री गर्दै आएको उहाँको भनाइ छ । तीनतले क्षेत्रमा जडीबुटीको लागि उपयुक्त भूगोल रहेकोले राम्रो आम्दानी लिन सहज भएको उहाँको भनाइ छ ।
पराम्परात बालीभन्दा जडीबुटी खेतीबाट राम्रो आम्दानी हुने शेर्पाले अनुभव सुनाउनुभयो । रु दश हजारको अन्यबाली उत्पादन हुने जमिनमा जडीबुटी खेतीबाट रु ५० हजारसम्म आम्दनी लिन सकिने उहाँको भनाइ छ । आफूले सिकेको सीपलाई जडीबुटीमा लागेका नवआगन्तुकलाई बाँड्ने गरेको उहाँको भनाइ छ । वडाको तर्फबाट पनि जडीबुटी खेतीमा लाग्नेहरुको लागि प्रोत्साहनको कार्यक्रम सञ्चालन गरिरहेको उहाँको भनाइ छ । आफ्नो फर्ममा उत्पादन भएको जडीबुटीको बिरुवा बाह्य जिल्लामासमेत निर्यात हुने गरेको शेर्पाले जानकारी दिनुभयो । आफूले पहिलाबाट नै कृषि कर्म गरिरहेकाले जनप्रतिनिधि भएपछि पनि यसलाई निरन्तरता दिइरहेको उहाँको भनाइ छ । राजनीति सेवा भएकाले आर्थिक रुपमा सबल बन्नको लागि पेसा, व्यवसायमा लाग्न आवश्यक रहेको उहाँले बताउनुभयो ।


