इटहरी । कृष्ण जन्माष्टमीको अवसरमा हेल्पिङ हेन्डस् क्लब, इटहरी–५ ले भक्तजनलाई लक्षित गरी निःशुल्क चिसो पानी वितरण गरेको छ । साथै असहाय वृद्ध–वृद्धालाई खाजासमेत वितरण गरिएको क्लबले जनाएको छ । राधाकृष्ण मन्दिरले आयोजना गरेको रथयात्रा अन्तर्गत इटहरी चोकमा भक्तजनलाई सहज बनाउन अभियान सञ्चालन गरिएको हो । क्लबका अध्यक्ष राजेश राईका अनुसार बाटोमा हिँड्ने भक्तजनहरूलाई राहत मिलोस् भन्ने उद्देश्यले यो कार्य गरिएको हो । उनले यस अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाउँदै स्थानीय स्तरमा मानवतावादी कार्यलाई अझ विस्तार गर्ने योजना रहेको जानकारी दिनुभयो । कार्यक्रममा युवा नेता तथा समाजसेवी सबिन श्रेष्ठको समेत सक्रिय सहभागिता रहेको थियो । सो क्रममा स्वयंसेवकहरूले रथयात्राको अवसरमा उत्पन्न फोहोर संकलन गरी सरसफाइ अभियान समेत सञ्चालन गरेका थिए । हेल्पिङ हेन्डस् क्लबले विगतदेखि नै व्यस्त सडकचोक तथा सार्वजनिक स्थानमा चिसो पानी वितरण, सरसफाइ लगायतका सामाजिक कार्य गर्दै आइरहेको छ ।


