इटहरी । अखिल नेपाल महिला संघ रामधुनि नगर कमिटीद्वारा उद्यमी महिलाहरूलाई सम्मान गर्दै तिज एवं जितिया पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको छ । अखिल नेपाल महिला संघ रामधुनि नगर कमिटी अध्यक्ष सुशिला ढुङ्गानाको अध्यक्षता र अखिल नेपाल महिला संघकी केन्द्रिय सदस्य अन्जु चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा रामधुनि नगरपालिकाका ९ वटै वडाबाट चयन गरिएका ९ जना उद्यमशील महिलाहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो । अध्यक्ष डुङ्गनाले आफ्नो मन्तव्यमा महिलाले आर्थिक सबलीकरण मार्फत मात्र सशक्तिकरण प्राप्त गर्न संघले महिलाको अधिकार, समानता र उद्यमशीलतालाई प्रोत्साहन गर्दै आएको बताउनुभयो । भविष्यमा पनि महिला आत्मनिर्भर बन्न सक्ने खालका कार्यक्रमलाई निरन्तर अघि बढाइने उहाँको भनाइ छ । प्रमुख अतिथि चौधरीले तिज र जितिया पर्व महिलाको मात्र नभई परिवार र समाजलाई एकजुट गराउने संस्कृतिसँग सम्बन्धित रहेको उल्लेख गर्दै आजका दिनमा महिलाहरू घर–परिवारमै सीमित नरही व्यापार, उद्योग, शिक्षा, राजनीति लगायत विभिन्न क्षेत्रमा सक्रिय भएर समाजलाई योगदान गरिरहेका उद्यमशील महिलाहरूलाई सम्मान गर्नु भनेको समग्र महिला आन्दोलनलाई सम्मान गर्नु रहेको बताउनुभयो । कार्यक्रममा अखिल नेपाल महिला संघ जिल्ला उपाध्यक्ष सिर्जना नेपाली, जिल्ला सदस्य तथा रामधुनि इन्चार्ज र नगर उपप्रमुख तारा थापा, नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा नगर इन्चार्ज राजकुमार गिरि, प्रदेश कमिटी सदस्यहरू, अनेमा सङ्घका सदस्यहरू तथा विभिन्न समुदायका महिलाहरूको उल्लेख्य उपस्थिति रहेको थियो । सहभागी महिलाहरूले आफ्ना संस्कृति झल्कने भेष–भूषा सहित उपस्थित भई तीजको उल्लासमय नृत्य, गीतमा रमाइलो गरेका थिए । सहभागीहरूले महिलाले सामना गर्दै आएका चुनौती, उद्यमशीलता विकासमा देखिएका अवसर, र तिज–जितिया पर्वले महिलाको सामाजिक एकता तथा आत्मबलमा पुर्याउने योगदानबारे आ–आफ्ना धारणा राखेका थिए ।

