इटहरी । बिराटनगरमा प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम सम्वर्धन केन्द्र,‘विराटनगर टिभिइटि इन्क्युबेशन सेन्टर’को उद्घाटन गरिएको छ ।  बिराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला र उप–प्रमुख शिल्पा निराला कार्कीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा विभिन्न सम्माननीय अतिथिहरू, सहकार्य संस्था सगरमाथा आइल्याब समूह आइ ल्याब कोशी प्रदेशका सदस्य तथा स्थानीय सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै नगरप्रमुख कोइरालाले दिगो विकासका लागि प्राविधिक तथा व्यावसायिक शिक्षा अपरिहार्य भएको बताउँदै स्थानीय सरकार र निजी क्षेत्रबीचको सहकार्यबाट केन्द्रलाई सफल बनाउन सकिने विश्वास व्यक्त गर्नुभयो । उप–प्रमुख कार्कीले युवालाई सीपमूलक तालिममार्फत रोजगारी र उद्यमशीलतामा प्रोत्साहित गर्न केन्द्रले महत्वपूर्ण योगदान दिने धारणा राख्नुभयो । यस केन्द्रले टिभिइटि क्षेत्रमा सुधार र सुदृढीकरण गर्दै युवाहरूलाई सीपमूलक तालिम प्रदान गर्ने, उनीहरूलाई रोजगारीसँग जोड्ने र उद्यमशीलता तथा नवप्रवर्तनलाई प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ । सगरमाथा आइल्याब समूह (कोशी प्रदेश) लाई विशेष धन्यवाद दिँदै आयोजकहरूले निरन्तर प्राविधिक शिक्षा, हरित सीप, उद्यमशीलता र तालिममा अग्रसर भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा सहभागिहरूले यस केन्द्रलाई दिगो, प्रभावकारी र राष्ट्रिय स्तरको नमूना केन्द्रका रूपमा विकास गर्न सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।