इटहरी । पछिल्लो समयमा जिल्लाका गाउँगाउँमा विद्युत् विस्तार भइरहेको छ । यसले असहज रहेको गाउँले जीवनमा मात्र उज्यालोपन ल्याएको छैन, दैनिक कामकाजमा पनि सहजता थपेको छ । ग्रामीण क्षेत्रमा विद्युत् विस्तार भएपछि स्थानीयले विद्युत्बाट चल्ने उद्योग तथा विभिन्न यन्त्रउपकरण सञ्चालन गरेर लाभ उठाउन थालेका छन् । अहिले गाउँगाउँमा कुटानी पिसानीका लागि विद्युतीय मिल जडान भएपछि दैनिकी सहज बनेको स्थानीयको भनाइ छ । विद्युत् विस्तारले ग्रामीण क्षेत्रका नागरिकको दैनिकीमा परिवर्तन ल्याएको टेम्केमैयुङ–५ मझौलेका स्थानीय रमेश विष्ट बताउछन् । विगतमा कुटानी पिसानीका लागि घण्टौँ लगाएर डिजेल वा पेट्रोलबाट चल्ने मिल खोज्न हिँड्नुपर्ने अवस्थामा अहिले टोलटोलमा विद्युतीय मिल जडान भएको उनको भनाइ छ । विद्युत् विस्तारपछि आफ्नो गाउँमा मात्र छवटा बढी विद्युतीय मिल रहेको उनले बताए । विद्युत् विस्तारसँगै साना घरेलु उद्योगसँगै मिल सञ्चालनमा आएपछि दैनिकी सहज बनेको उनको भनाइ छ । गाउँघरमा राज्यको तहबाट विद्युत् विस्तार गरिएपछि फर्निचरलगायत घरेलु उद्योग सञ्चालन गरेर आयआर्जनमा जोडिएको र दैनिकी सहज भएको टेम्केमैयुङ–१ का स्थानीय जगतबहादुर राईले बताए ।पछिल्लो एक दशकको अवधिमा जिल्लाका धेरै दूरदराजका गाउँमा उज्यालो छाएको उनको भनाइ छ ।


